+

प्याराग्लाइडिङ अनुमतिको विषय उठाएकोमा प्राधिकरणप्रति राखेप सदस्यसचिव असन्तुष्ट

२०७९ असोज  ३१ गते १९:५५ २०७९ असोज ३१ गते १९:५५
प्याराग्लाइडिङ अनुमतिको विषय उठाएकोमा प्राधिकरणप्रति राखेप सदस्यसचिव असन्तुष्ट

३१ असोज, पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ प्रतिस्पर्धा हुँदै गर्दा दुर्घटनामा खेलाडीको मृत्यु भएपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले उडान अनुमतिको विषय उठाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार राष्ट्रिय प्याराग्लाइडिङ च्याम्पियनसिपका क्रममा पुरुष क्रसकन्ट्री विधामा नेपाल आर्मी क्लबका निसिम थापामगरको दुर्घटनामा निधन भएको थियो । टेकअफ प्वाइन्ट पोखराको सराङकोटबाट उडान भरेलगत्तै दुर्घटनामा परि गम्भीर घाइते भएका उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

‘प्याराग्लाइडिङ साहसिक खेलकुद हो । संसारभर यस्ता खेलकुदका क्रममा दुर्घटना हुने गरेका छन् । हामीले हिजो त्यस्तै नियती भोगेका हौं,’ सदस्य सचित घिसिङले भने, ‘खेलाडीको निधन भएकोमा दुःख व्यक्त गर्न छाडेर प्राधिकरण अनुमतिमा प्रश्न गरेर बसेको छ ।’

सदस्यसचिव घिसिङले नागरिक उड्ययन प्राधिकरण र राखेप दुवै सरकारी संस्था भएको र मन्त्रिपरिषदले निर्णय गरी राष्ट्रिय खेलकुद सञ्चालन भएका कारण अनुमतिको प्रश्न नै आवश्यक नभएको बताए ।

‘हामीले नयाँ ठाउँमा च्याम्पियनसिप गरेका होइनौं । सराङकोट सरकारले यसअघि नै अनुमति दिएको ठाउँ हो । यहाँ नियमित रुपमा प्याराग्लाइडिङको राष्ट्रिय प्रतियोगिता र विश्व च्याम्पियनसिपसम्म आयोजना भइसकेको छ,’ सदस्यसचिव घिसिङले प्रश्न गरे, ‘प्याराग्लाइडिङका लागि अनुमति लिनुपर्ने हो भने सुटिङका लागि रक्षा मन्त्रालय र पौडीका लागि जलश्रोत विभागसँग अनुमति लिनुपर्ने हो त ?’

खेलकुदका क्रममा भएको एउटा दुर्घटनाकै आधारमा व्यवसाय नै बन्द गराउने प्राधिकरणको निर्णयप्रति पनि उनले आश्चर्य व्यक्त गरे । ‘मुख्य सिजनको समयमा व्यवसायीलाई अप्ठेरो पर्ने गरी भएको निर्णय आश्चर्यजनक रुपमा आएको छ,’ घिसिङले भने ।

प्याराग्लाइडिङको बाँकी स्पर्धा बुधबारदेखि सुरु गर्ने तयारी

नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले राष्ट्रिय च्याम्पियनसिपको बाँकी स्पर्धा बुधबार (असोज २ गते)देखि सुरु गर्ने तयारी गरेको छ ।

दुर्घटनामा खेलाडीको मृत्यु भएपछि आइतबार दिउँसोदेखि राखेपको निर्देशनमा प्रतियोगिता स्थगित गरिएको थियो ।

संघको प्राविधिक समिति र सहभागी टिमका प्रतिनिधिबीच भएको छलफलपछि २ गतेदेखि प्रतियोगिता फेरि सुरु गर्ने निर्णय भएको संघका महासचिव शैलेन्द्र राउतले बताए । संघको निर्णयमा राखेप पनि सकारात्मक देखिएको छ ।

‘उहाँहरुले २ गतेदेखि प्रतियोगिता सञ्चालन गर्नेबारे निर्णय राखेपमा पठाउनुभएको छ । हामी सकारात्मक छौं,’ सदस्यसचिव घिसिङले भने ।

आइतबारसम्म प्याराग्लाइडिङको क्रसकन्ट्रीमा एक चरणको स्पर्धा सम्पन्न भइसकेको थियो । महासचिव शैलेन्द्रका अनुसार त्यसलाई आधिकारिक मान्ने र बाँकी चरणको खेल त्यहीँबाट सुरु गर्न सहभागी टिम सहमत भएका छन् ।

टंकलाल घिसिङ नवौं राष्ट्रिय खेलकुद निसिम थापा प्याराग्लाइडिङ दुर्घटना
लेखक
कुशल तिमल्सिना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय