
३१ असोज, धनगढी । प्रदेशसभाको अवधि रहँदासम्म नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रहेका डा.रणबहादुर रावल पछिल्लो कार्यकालमै प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा थिए ।
नेकपा एमाले विभाजन भएर पाँच दलीय गठबन्धन बन्दा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको साथ लिएर मुख्यमन्त्रीका रुपमा रावललाई अघि सार्ने तयारी गरेको थियो ।
तर, सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वले अहिलेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नै पूरा कार्यकाल काम गर्न दिने सहमति गरेपछि रावलको इच्छा पूरा हुन सकेन । मुख्यमन्त्रीका दाबेदार रावल भट्ट नेतृत्वकै सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री बने । सरकार पुनर्गठनका बेला २५ चैत २०७८ मा कानून मन्त्री बनेका रावल अगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्यको चुनावमा उम्मेदवार बनेका छन् ।
कैलाली क्षेत्र नम्बर १ को प्रदेशसभा (२) बाट उम्मेदवार बनेका रावल चुनाव जितेर मुख्यमन्त्री बन्ने दौडमा छन् । तर, अहिले उनी पार्टीले दिएको भूमिका अनुसार अघि बढ्ने बताउँछन् । ‘यो नै जिम्मेवारी चाहिन्छ भन्ने मेरो कुनै भनाइ छैन । पार्टीले दिएको भूमिका निर्वाह गर्नेछु’ रावलले भने, ‘अहिलेको प्राथमिकता भनेको चुनाव जित्नु हो ।’
२०७४ सालको चुनावमा माओवादीका नेपबहादुर चौधरीलाई पराजित गरेका रावल अहिले माओवादीकै साथ लिएर चुनावमा होमिएका छन् भने उनलाई एकीकृत समाजवादीको पनि समर्थन छ । गठबन्धन हुँदा समेत सशक्त प्रतिद्वन्द्वी नेकपा एमालेसँगै थारु बाहुल्य भएको यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको पनि बलियो उपस्थिति भएकाले त्रिपक्षीय भिडन्त हुने सम्भावना देखिन्छ ।
कांग्रेसभित्र रावल बाहेक कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (२) उम्मेदवार रहेका बहादुरसिंह थापा, क्षेत्र नम्बर १ को प्रदेशसभा (२) का उम्मेदवार दिवानसिंह विष्ट र सुदूरपश्चिमका सामाजिक विकास मन्त्री समेत रहेका डडेल्धुराको प्रदेशसभा (२) का उम्मेदवार गोविन्दराज बोहरा पनि मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएका छन् ।
संविधानसभा सदस्य समेत रहेका थापा कांग्रेसभित्र नेता एनपी साउद निकट मानिन्छन् । कांग्रेस महाधिवेशन प्रतिनिधि रहेका उनी कञ्चनपुरका जिल्ला सभापति पनि हुन् । २०७४ सालमा उनी एमालेका लालबहादुर खड्कासँग पराजित भएका थिए । सुदूरपश्चिमका पूर्व सामाजिक विकास मन्त्री समेत रहेका खड्का एकीकृत समाजवादीबाट थापाविरुद्ध गठबन्धनका बागी उम्मेदवार बनेका छन् भने यस क्षेत्रमा एमालेले कृपाराम रानालाई उम्मेदवार बनाएको छ ।
अघिल्लो चुनावको हारको सहानुभूति, गठबन्धनमा नेकपा माओवादीको साथ, बलियो पार्टी संगठन लगायतको फाइदै उठाउदै चुनाव जितेर मुख्यमन्त्री बन्ने दाउमा थापा रहेको उनी निकट नेताहरु बताउँछन् ।
२०७० सालमा संविधानसभा सदस्य चुनावमा माओवादी केन्द्रकी बिना मगरलाई पराजित गरेका दिवानसिंह विष्ट पनि मुख्यमन्त्री बन्ने अभिलाषा सहित प्रदेशसभाको चुनावमा होमिएका छन् । उनी २०७४ को चुनावमा भने मगरसँग पराजित भएका थिए ।
संविधानसभा सदस्य र प्रतिनिधिसभा सदस्य गरेर दुई पटक चुनाव लडिसकेका विष्ट क्षेत्र नम्बर १ मा गठबन्धन गर्नु नहुने पक्षमा थिए तर गठबन्धनका नेताहरुले उनलाई प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रचण्डकी बुहारी मगरलाई साझा उम्मेदवार बनाएको माओवादी वृत्तमा बुझाइ छ । जुन कुरालाई स्वयं विष्ट पनि स्वीकार गर्छन् ।
‘सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा मेरो स्वभाविक दाबी रहन्छ । मेरो पार्टी र गठबन्धनमा आवद्ध शीर्ष नेताहरुसँगको समझदारीमै म प्रदेशसभाको चुनाव लडेको हुँ,’ विष्टले अनलाइनखबरसँग भने, ‘दुई–दुई पटक प्रतिनिधिसभा चुनाव लडेर सांसद भइसकेको मलाई उहाँहरुले समझदारीअनुसार जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास छ ।’
सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा पनि मुख्यमन्त्रीको दौडमा छन् । डडेल्धुराको प्रदेशसभा (२) बाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा रहेका बोहरा २०७४ सालको निर्वाचनमा कांग्रेसको समानुपातिकतर्फको प्रदेशसभा सदस्य बनेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवा निकट उनी अहिले सोही क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवार छन् । बोहराले मुख्यमन्त्रीमा आकांक्षी भएको संकेत गरेपनि यो विषयमा अहिले नै प्रतिक्रिया दिन हतारो हुने बताए । ‘अहिले मुख्य कुरा चुनाव कसरी जित्ने भन्नेमा हामी केन्द्रित छौँ । मुख्यमन्त्री बन्ने वा नबन्ने भन्ने विषयमा प्रतिक्रिया दिदा हतारो हुन्छ’, बोहराले अनलाइनखबरसँग भने ।
सत्तारुढ गठबन्धनमै आवद्ध नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट शीर्ष नेताहरुसँग मुख्यमन्त्री बन्ने सहमति गरेर नै प्रदेशसभामा उम्मेदवार बनेको नेताहरु बताउँछन् ।
‘कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा जसरी पनि विजयी गराउने र खगराज कमरेडलाई प्रदेशको मुख्यमन्त्री बनाउने सहमतिअनुसार उहाँले उम्मेदवारी दिनुभएको हो’, माओवादीका एकजना नेता भन्छन्, ‘चुनाव लगत्तै माओवादी नेतृत्वमा यहाँको सरकार बन्छ । हाम्रो पार्टीले सर्वसम्मत रुपमा उहाँलाई नै मुख्यमन्त्री बनाउँछ ।’
नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीको साथ लिएर भट्टले डडेल्धुराको प्रदेशसभा (२) मा उम्मेदवारी दिएका छन् । अहिले उनी चुनावी प्रचारप्रसारमा छन् । २०६४ सालदेखि प्रधानमन्त्री देउवासँग चुनाव लड्दै आएका खगराजले गठबन्धनको साथ भएकाले सहजै चुनाव जित्ने उनी पक्षीय नेताहरुको दाबी छ ।
भट्ट पनि गठबन्धनका नेताहरुबीचको सहमतिअनुसार आफू अगामी चुनावपछि प्रदेशको मुख्यमन्त्री बन्ने बताउँछन् । प्रदेशको मुख्यमन्त्री दिने सहमतिपछि नै आफू प्रदेशसभाको चुनाव लड्न तयार भएको बताउँदै उनले भने, ‘त्यो स्वभाविक हो । हामी राम्रो मत प्राप्त गरेर गठबन्धनसहित चुनाव जित्छौँ । सबै प्रकारले छलफल चलेको छ ।’
गठबन्धनका नेताको व्यवस्थापन गर्ने क्रममा आफूलाई मुख्यमन्त्री दिने कुुरा भएको उनको भनाइ छ । डोटीमा अहिलेका मुख्यमन्त्री त्रिलोचन भट्टको टिकट खोसेर उनका स्वकीय सचिव शिवसिंह ओलीलाई दिइनुका पछाडि यही कारण रहेको एकथरीको बुझाइ छ ।
सत्तारुढ गठबन्धनकै अर्को घटक नेकपा एकीकृत समाजवादी पार्टीका दीर्घबहादुर सोडारी पनि मुख्यमन्त्रीको दाबेदार हुन् । अहिले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रहेका सोडारी तत्कालीन अवस्थामा सुदूरपश्चिम प्रदेशसभामा समाजवादी सबैभन्दा ठूलो दल भएको आधारमा मुख्यमन्त्री बन्ने इच्छा देखाएका थिए ।
तर, कांग्रेसका रावल जस्तै शीर्ष नेताहरुले नचाहेपछि मुख्यमन्त्री बन्ने सोडारीको धोको पूरा भएन । फेरी कैलाली क्षेत्र नम्बर ४ को प्रदेशसभा (२) बाट उम्मेदवार बनेका उनी मुख्यमन्त्रीका आकांक्षी छन् । नेकपा एमालेबाट विभाजन भएर बनेको समाजवादीको बलियो संगठन संरचना नभएपनि गठबन्धनको बलमा चुनाव जितेर प्रदेशको नेतृत्व गर्ने इच्छा उनमा छ । तर उनले यो विषयमा कुनै प्रतिक्रिया दिन मानेनन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र पनि तीन/चार जना नेताहरुले मुख्यमन्त्रीको आकांक्षा राखेका छन् । पोलिटब्यूरो सदस्य समेत रहेका प्रदेश सहइन्चार्ज राजेन्द्रसिंह रावल र केन्द्रीय सदस्य लालबहादुर थापा एमालेको तर्फबाट मुख्यमन्त्रीको दाबेदार हुन् । प्रदेशसभामा समानुपातिकतर्फको पहिलो नम्बरमा परेका रावल अन्य उम्मेदवार भन्दा सिनियर नेता भएकाले उनी संसदीय दलको नेता बन्न सक्ने सम्भावना धेरै छ ।
एमालेको नेतृत्वमा सरकार बन्ने अवस्थामा रावल मुख्यमन्त्रीका दाबेदार हुनसक्ने बलियो सम्भावना छ । तर, रावल स्वयंले यो विषयमा आफू कुनै प्रतिक्रिया नदिने बताए । ‘अहिले हाम्रो पार्टी पंक्तिको ध्यान सूर्य ध्वजावाहक उम्मेदवारलाई कसरी जिताउने भन्नेमा केन्द्रित छ,’ रावलले अनलाइनखबरसँग भने, सरकार बनाउने, मुख्यमन्त्री, मन्त्री हुने बिषयमा म कुनै टिप्प्णी गर्दिन ।’
मुख्यमन्त्रीका आकांक्षी एमालेका अर्का नेता लालबहादुर थापा बाजुराको प्रदेशसभा (२) बाट उम्मेदवार बनेका छन् । २०७४ सालको निर्वाचनमा प्रतिनिसभा सदस्यमा विजयी भएका उनी मुख्यमन्त्री बन्ने आकांक्षा राखेरै प्रदेशसभाको चुनाव लडेको नेताहरु बताउँछन् ।
एमाले बाजुरा इन्चार्ज समेत रहेका थापाले त्यतिबेला कांग्रेसका कविराज पण्डितलाई करिव साढे चार हजार मतान्तरले पराजित गरेका थिए । थापासँग अहिले गठबन्धनका तर्फबाट कांग्रेसका पदमबहादुर शाही उम्मेदवार छन् । ३० वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा यहाँका ९ मध्ये ६ पालिका एमालेले जितेको थियो ।
तर एमाले केन्द्रीय सदस्य समेत रहेका थापाले भने अहिले प्रदेशसभाको उम्मेदवारका रुपमा पार्टीले अघि सारेकाले चुनाव जितेपछि विकसित परस्थितिका आधारमा अघि बढ्ने बताए ।
‘अहिले नेकपा एमालेले मलाई प्रदेशसभा सदस्यको उम्मेदवारको रुपमा अघि सारेको छ । ५ वर्ष प्रतिनिधिसभा सदस्य भएर काम गरेको छु’, थापाले अनलाइनखबरसँग भने, ‘पाँच वर्ष राष्ट्रिय तहमा काम गर्दा प्राप्त अनुभवलाई अब सुदूरपश्चिमको विकासका लागि खर्च गर्नेछु । अहिले मुख्यमन्त्रीकै उद्देश्य राखेको छैन । भोलि विकसित हुने परस्थिती र पार्टी निर्णयका आधारमा अघि बढ्ने कुरा हुन्छ ।’
सुदूरपश्चिम प्रदेशमा ५३ सदस्यीय प्रदेशसभा छ । यहाँ सरकार बनाउन २७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।
प्रतिक्रिया 4