
काठमाडौं । दक्षिण भारतीय सुपरस्टार पृथ्वीराज सुकुमारनको आगामी फिल्म ‘खलिफा’को छायांकन नेपालमा समेत हुने भएको छ ।
केही भारतीय सञ्चारमाध्यमले नेपाल, यूएई र भारतमा फिल्म छायांकन हुने उल्लेख गरेका छन् । अभिनेता सुकुमारनको जन्मदिनको अवसर पारेर सोमबार फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
नेपालमा समेत फिल्म सुटिङ हुने जानकारी दिंदै कार्यकारी निर्माता जिनु अब्राहमले भने, ‘खलिफा बदलाको कथावस्तुमा बन्ने रिभेन्ज फिल्म हो । ठूलो बजेट र ठूलै क्यानभासमा फिल्म बन्नेछ । यो स्टाइलिस मास थ्रिलर फिल्म हुनेछ । नेपाल, केरला र यूएईमा फिल्मको सुटिङ हुनेछ ।’
स्क्रिप्ट लेखक समेत रहेका कार्यकारी निर्माता जिनु अब्राहम र अभिनेता सुकुमारनले अघिल्ला दुई फिल्म ‘जोन’ र ‘कडुवा’पछि यो फिल्ममा सहकार्य गर्ने पक्का भएको हो । ती दुई फिल्म पनि विदेशमै छायांकन भएका थिए ।
निर्माता जिनुले आफूहरु स्क्रिप्टको चरणमा रहेको र अंग्रेजी नयाँ वर्षदेखि छायांकन सुरु हुने जानकारी दिए । फिल्मलाई वैशाखले निर्देशन गर्नेछन् ।
विदेशी फिल्मको नेपाल व्यवस्थापनमा सक्रिय केही लाइन प्रोड्युसरले अनलाइनखबरलाई दिएको जानकारीअनुसार कम्तीमा तीन-चारवटा भारतीय फिल्मको छायांकन नेपालमा हुँदैछ ।
‘हामी प्रारम्भिक चरणमा छौं । निधो हुने बित्तिकै जानकारी सार्वजनिक गर्नेछौं,’ एक लाइन प्रोड्युसरले भने ।
प्रतिक्रिया 4