
काठमाडौं । दयाहाङ राई र सौगात मल्ल स्टारर कमेडी तथा सोसल ड्रामा ‘दुई नम्बरी’ले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ ।
प्रदर्शनको १२ दिनसम्म फिल्मले देशव्यापी ६ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको छ । पहिलो साता साढे चार करोड रुपैयाँ कमाएको फिल्मले दोस्रो सप्ताहन्तमा स्थिर गतिमा कमाउन सक्यो ।
दोस्रो साताको विकडेजमा अकुपेन्सी केही घटे पनि निराशाजनक आँकडा चाहिं छैन । प्रस्तुतकर्ता किरण नेपालीले १२ दिनसम्मको कमाइलाई लिएर खुसी व्यक्त गरे ।
वर्ष २०७९ को अर्धवार्षिक कमाइ हेर्दा ‘कबड्डी ४’पछि प्रेमगीत ३, झिंगेदाउ र दुई नम्बरीले मात्र आफूलाई बक्स अफिसमा हिट तुल्याउन सकेका छन् ।
यसैबीच, दर्शकले बुधबारदेखि दुई नम्बरीमा केही नयाँ ध्वनि र दृश्य देख्न सक्नेछन् । निर्माताले ध्वनि र दृश्यमा केही काँटछाँट गर्दै बुधबारदेखि ‘दुई नम्बरी’लाई हलमा पठाएका छन् । प्रस्तुतकर्ता नेपालीले आठ मिनेट लामो दृश्यलाई पुनः सम्पादन गरिएको बताए ।
‘सम्पादनपछिको फिल्मले अझै स्पष्ट रुपमा कथा भन्छ । दर्शकलाई अझै मन पर्न सक्छ,’ नेपालीले भने । फिल्मको लम्बाइ २ घण्टा ७ मिनेटबाट घटेर २ घण्टा २ मिनेटमा सीमित भएको छ ।
प्रतिक्रिया 4