
२ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य देवी खड्काले पार्टीको दोलखा इन्चार्जको भूमिकाबाट राजीनामा दिएकी छिन् ।
स्वाथ्यका कारण भन्दै आफूले इन्चार्जको भूमिकामा नरहने भनेर पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाएको खड्काले जानकारी दिइन् । ‘मैले नेतृत्वलाई स्थानीय चुनावसम्म मात्रै बस्छु, त्यसपछि म निस्कन्छु भनेको थिएँ’, उनले अनलाइनखबरसँग भनिन् ।
खड्का दोलखाबाट प्रतिनिधिसभाको टिकटकी आकांक्षी थिइन् । यसअघि समानुपातिक सांसद भइसकेकी खड्का यसपालि प्रत्यक्ष चुनाव लड्न चाहन्थिन् । तर, माओवादीले टिकट भने गंगा कार्कीलाई दिएको छ ।
कार्कीलाई टिकट दिएकोमा आफ्नो विरोध नभएको तर केही विधिगत कुरामा चित्त नबुझेको खड्काको भनाइ छ । ‘पात्रको हिसाबले निर्णय गलत भयो भन्ने पनि मेरो कुरा होइन’, उनले भनिन्, ‘तर, जिम्मेवार तहमा रहेका व्यक्तिलाई नै छलफलमा सहभागी नगराएपछि त्यो विधिसंगत भएन भन्ने मेरो कुरा हो ।’
टिकट दिने सन्दर्भमा महिलालाई थोरै मात्र अवसर दिएको खड्काले बताइन् । ‘केही महिलालाई अपवादका पात्र जस्तो गरेर तानेको पाइन्छ’, खड्काले भनिन्, ‘केही महिलालाई पुरुषभन्दा अगाडि हुँदाहुँदै पनि माइनस गरिएको छ ।’
प्रतिक्रिया 4