
२ असोज, विराटनगर । तीनवटा राजनीतिक क्रान्ति हाँक्ने, अनि तीन जना प्रधानमन्त्री हुर्काउने विराटनगरको कोइराला निवासमा हिजोआज डा. शेखर कोइराला बस्छन् । भारतमा डाक्टरी पढेर फर्र्किएपछि उनले कोशी अञ्चल अस्पतालमा काम गरे । यो अस्पताल उनको घरबाट हिंड्दै गए दुई मिनेटमै पुगिन्छ ।
त्यसपछि धरान घोपास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति भई काम गरे । आमा नोनाले घरैमा पकाएको खाना खाएर उनी धरान पुग्थे । छोटो अवधि मात्रै उनी धरान बसे, नत्र सधैं विराटनगर ।
डाक्टरी गर्दैगर्दा पनि शेखर क्रान्तिहरूमा हिंडे, सक्रिय राजनीतिमा आएपछि संसदमा गए । विराटनगर सहर बसाउने कृष्णप्रसाद कोइरालाका नाति–नातिना पुस्तामा सबभन्दा सक्रिय राजनीतिज्ञ उनी नै हुन् । सुजाता कोइरालाको नाम यहाँ छुटाउन मिल्दैन । सुरुका वर्षहरूमा सुजाताको सक्रियता धेरै, पछिल्ला वर्षमा शेखरको ।
तर यति योगदानका बीच शेखर पार्टीभित्रै, अनि परिवारभित्रै पूर्ण स्वीकार्य बनिसकेका छैनन् । एउटा बेला थियो, कोशी अस्पतालको सडक पार गरेपछि कोइराला निवासको प्रांगण सुरु हुन्थ्यो । कुनै बार थिएन, कुनै पर्खाल थिएन । हिजोआज बार पनि छ, पर्खाल पनि । बार र पर्खाल शेखरले लगाएका होइनन्, सुजाताले लगाएकी हुन् ।
सबैलाई थाहा छ, सुजाता गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । शेखरचाहिं केशवप्रसाद कोइराला र नोनाका छोरा हुन् । बीपी आफ्नोपट्टिका छोराछोरीसहित भारत निर्वासित हुन बाध्य हुँदा शेखरका बुवा केशवले नै विराटनगरको घरव्यवहार सम्हालिदिएका थिए ।
त्यसैले प्रवासबाट फर्किएर आएपछि गिरिजाप्रसादले छोरी सुजाता र भतिजा शेखरलाई समान किसिमको माया दिएका थिए भन्छन् स्थानीय कांग्रेसजन । दोस्रो जनआन्दोलन तथा तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा पनि शेखरलाई निश्चित भूमिका दिएका थिए गिरिजाप्रसादले ।
तर हिजोआज विराटनगरको यो घरमा मिठा विगतहरूको चर्चा हुँदैन । पर्खालबाट उतापट्टि सुजाताले जीपी कोइराला फाउन्डेसनको अफिस राखेकी छन् । नयाँ भवन संरचनाबाहिर झारपातले झ्याम्मै ढाकिएको छ । घरले स्याहार पाएको देखिंदैन । पहिले कोइराला निवास हेर्नेहरूले नै त्यसको पनि स्याहार गरिदिंदा रहेछन् । सुजाताले पर्खाल लगाएपछि सबैथोक बाहिर परिगयो ।
तिनै सुजाता अनि शेखर यसपल्ट प्रतिनिधिसभा चुनावमा मोरंगबाट कांग्रेस उम्मेदवार छन् । सुजाता मोरङ–२ बाट, शेखर ६ बाट । कोइराला निवास क्षेत्र नं ६ मा पर्छ, जहाँबाट शेखर चुनाव लड्दैछन् ।
अनि यो आम जानकारीमै छ; पोहोर मंसिरमा भएको कांग्रेसको १४औं महाधिवेशनमा शेखरले पुरानो कोइराला समूहबाट पार्टी सभापतिमा उम्मेदवारी दिंदै गर्दा सुजाता फरक्क फर्केर अर्को ध्रुवमा उभिइन् ।
आफू उपसभापति उम्मेदवार बनेर प्रकाशमान सिंहलाई सभापतिमा सघाउन पुगेकी उनले अन्तिममा देउवालाई नै समर्थन गरिन् । बीपी कोइरालापुत्र तथा कांग्रेसका तत्कालीन महामन्त्री शशांक कोइराला पनि देउवालाई नै सघाउनेमा पुगे ।
अहिले पनि विराटनगरको कोइराला निवास वरिपरि लगाएका पर्खाल मात्रै राम्रोसँग नियालियो भने यहाँको पछिल्लो राजनीतिक विश्लेषण गर्न सकिन्छ । मानिसहरूलाई सोधिराख्नुपर्दैन ।
‘उतापट्टि पनि हामीले नै सरसफाइ गरिदिन्छौं भनेका थियौं, सुजाता दिदीले आफैं गराउँछु भन्नुभयो । यता पनि आउने गर्नुस् न दिदी भनेको, त्यताका पनि त यता आए भइहाल्छ नि भन्नुभयो’ कोइराला निवास स्याहारिरहेका एक सदस्यले भने, ‘कस्तो चित्त दुख्यो । पिताजी (कृष्णप्रसाद कोइराला) कै पालादेखि यहाँ कसैलाई पनि भेदभाव छैन । हिजोआज अलिक त्यो भावना देखियो ।’
महाधिवेशनको सँघारमा शेखर, शशांक र सुजाताबीच भावनात्मक एकताका प्रयास भएका थिए । सँगै बसेर लन्च खानेदेखि चियापानसम्म चलिरहेकै थिए । तर बीचमा के भो, शेखरले उनीहरूको साथ पाएनन् । यसपल्ट सुजाताले टिकट लिंदै गर्दा पनि त्यो देउवातर्फबाट प्राप्त भएको हो, शेखर समूहको तर्फबाट होइन ।

कांग्रेस मोरङका एक नेताले अनलाइनखबरसँग भने, ‘कोइराला निवास पहिले एकताको प्रतीक थियो, अहिले तिक्तताको । शेखर’दा नभएका बेलामा कोइराला निवासभित्रै एकथरी मान्छेहरू कांग्रेसकै उम्मेदवारलाई कसरी हराउने भन्ने किसिमले छलफल समेत गरिरहेका हुन्छन् ।’
के थाहा, त्यो छलफलमा स्वयं शेखरकै बारेमा पनि कुरा हुन्छ कि ! ती सदस्यले यसबारे खुलेर बताउन चाहेनन् ।
याद रहोस्, सुजाताले यसअघि सुनसरी–५ बाट लड्दै आएकी थिइन् । मोरङ–२ मा मिनेन्द्र रिजाललाई रोक्न पार्टी संस्थापनले गिरिजापुत्रीलाई नै उपयुक्त विकल्प देख्यो । विगतमा गिरिजाप्रसादले लडेको क्षेत्रमा उनी आउँदा कार्यकर्ताले पनि विरोध गर्ने अवस्था बनेन ।
यसरी सुजाताले उनी फेरि सक्रिय राजनीतिमा फर्कन चाहेको सन्देश दिएकी छन् । अनि सुनसरीबाट मोरङ फर्केर कोइराला परिवारभित्रको आन्तरिक शक्ति–संघर्ष झन् मजबुत बन्दै गएको आभास यहाँका कार्यकर्तालाई मिलेको छ ।
कांग्रेस विराटनगर महानगरका सभापति दीपक चापागाईं भन्छन्, ‘उहाँले मोरङबाट चुनाव लड्ने मनसाय बनाउनुभएको थिएन । तर पार्टी महाधिवेशनमा शेखर दाइभन्दा भिन्नै तरिकाले जाँदा त्यसको असर यो चुनावसम्म पर्यो । उहाँले महाधिवेशनमा उपसभापति बन्न चाहेको भए, वा चुनावमा टिकटको कुरा गर्नुभएको भए शेखर दाइकै समूहबाट पनि मिलिहाल्थ्यो नि !’
अनलाइनखबरको टिमले शेखरलाई उनकै घरमा भेट्न चाहेको थियो, तर अकस्मात् काठमाडौं जानुपर्ने भएर उनी विराटनगर विमानस्थलमा पुगेका थिए । हामी त्यहीं गएर उनीसँग छोटो बात मार्यौं । विमानस्थलमा शेखरले परिवारको बारेमा टिप्पणी गर्न चाहेनन् । त्यसपछि हामीले चुनावमै प्रश्नहरू केन्द्रित गर्यौं ।

उनले भने, ‘पूरै चुनाव लागिसकेको छैन । तर कार्यकर्ताका बीचमा बसेर कसरी जनताको बीचमा जाने ? के एजेन्डा लैजाने भन्नेबारे छलफल गर्ने, कुरा सुन्ने काम भइरहेका छन् । म आफैं पनि मोरङका विभिन्न ठाउँमा गइरहेको छु ।’
उनले यसो भन्दाभन्दै पनि कांग्रेसका देउवा निकट उम्मेदवारलाई यसअघिको स्थानीय चुनावमा हराउन उनी निकटस्थहरू लागिपरेको चर्चा स्थानीय रूपमा निकै चलेको छ । त्यसको असर उनले भोग्नुपर्ने आशंका पार्टीवृत्तमा चलेको छ । स्थानीय तह निर्वाचनमा डाक्टर शेखर कोइराला पक्षले खेलेको भूमिकाका कारण संस्थापन पक्ष असन्तुष्ट छ । १४औं महाधिवेशनमा मोरङमा कोइराला पक्षले पेलेका कारण पनि देउवा पक्ष रुष्ट देखिन्छ ।
सुन्दरहरैंचा नगरपालिकाको मेयरमा डा. कोइराला पक्षकै कारण संस्थापन पक्षका उम्मेदवार शिवप्रसाद ढकाल एमाले उम्मेदवार केदार गुरागाईंसँग पराजित भएको देउवा पक्षको दाबी छ । यही खिचातानीका कारण गुरागाईंसँग ढकाल केवल ७२७ मतले पराजित भएका थिए ।
स्थानीय चुनाव बेलाको तिक्तता यतिबेला नरहेको सफाइ दिंदै शेखर टोल–टोलमा हिंडिरहेका छन् । शेखरले सुन्दरहरैंचामा आयोजित कार्यकर्ता भेलामा बोल्ने क्रममा भनेका थिए, ‘देउवाजी र मेरो कुरा मिलिसकेको छ । पार्टीभित्रका आन्तरिक समस्या अहिले सकिएका छन् । त्यसैले को देउवा पक्षको, को शेखर पक्षको भनेर तपाईंहरू विवाद नगर्नुहोला । हामी मिलिसक्यौं ।’
कुनै विवाद नरहेको सन्देश दिन यही ५ कात्तिकमा देउवा, प्रचण्डसहित गठबन्धनका नेतालाई विराटनगरकै मनास्लु पार्टी प्यालेसमा कार्यकर्ताबीच जमघट गराउँदै छन् । शेखरले कांग्रेस नेतृत्वमा नयाँ गतिविधि पैदा भइरहेको भनेर आश्वस्त गराउन खोज्दाखोज्दै पनि उनलाई डर भने अन्तर्घातकै छ ।
याद रहोस्, अघिल्लो आम चुनावमा देशभरि वाम गठबन्धनको लहर चल्दा पनि शेखर एमालेका लालबाबु पण्डितसँग ६७५ भोटले मात्रै हारेका थिए । तत्कालीन माओवादीको समर्थनमा पण्डितले ३३ हजार ९४१ मत पाएका थिए । शेखरले ३३ हजार २६६ मत प्राप्त गरेका थिए ।
यो पटक पनि शेखरको प्रतिस्पर्धी उनै लालबाबु छन् । तर त्यसबेला एमालेलाई सघाएको माओवादी यो बेला कांग्रेसतिरै ढल्केको छ । त्यस अर्थमा शेखरलाई तुलनात्मक सहजता पनि छ । तर अघिल्लो चुनावको नमिठो अनुभव छ कांग्रेसका स्थानीय कार्यकर्तासँग ।
उनीहरूको भनाइमा २०७४ को प्रतिनिधिसभा चुनावमा शेखरलाई हराउन कोइराला परिवारभित्रकै मानिसहरू लागिपरेका थिए । त्यसमा देउवा पक्षले पनि मज्जैले साथ दिएको बताउँछन्, एक जिल्ला कार्यकर्ता । अर्थात् त्यो पर्खाल भत्किएको छैन, बरु अरू तगारा र बारहरू पनि थपिएका छन् । के यी पर्खालहरूको भेद मेट्न शेखर सफल होलान् ? अथवा कोइराला परिवारभित्रको आन्तरिक खिचातानीबाट एमालेका लालबाबु पण्डितले फेरि फाइदा उठाउन सक्लान् ? यसबारे अनलाइनखबरको स्थलगत दोस्रो भागमा पस्कनेछौं ।
तस्वीरहरू :शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4