
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र अभिनेता हरिवंश आचार्यबीच भेटघाट भएको छ । काठमाडौं-५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका प्रदीपले हरिवंशसँग भेटेका हुन् ।
घरदैलो अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिका-४ स्थित आचार्यको निवासमा भेटघाट भएको पौडेलको सचिवालयले पुष्टि गरेको छ । मत माग्दै पुगेको पौडेललाई कलाकार आचार्यले सफलताको शुभकामना दिएका थिए।
‘बूढानीलकण्ठ घरमै उहाँहरुका बीच भेट भएको हो । स्नेहपूर्ण व्यवहार रह्यो,’ भेटवार्ताका क्रममा सँगै रहेका पौडेलको सचिवालयका एक सदस्यले भने, ‘शुभकामना दिनुभयो । तपाईं जत्तिको युवा आउनुपर्छ भन्नुभयो ।’
ती सदस्यका अनुसार आचार्यले आफूले सार्वजनिक रुपमा कसैको पक्षमा नबोलेको पनि बताएका थिए। ‘उहाँ (आचार्य)ले सार्वजनिक रुपमा बोलेको छैन पनि भन्नुभयो,’ उनले भने ।
पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका-५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका हुन् । पहिलो दिनको घरदैलो अभियानका क्रममा उनको हाँडीगाउँ जात्रामा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग जम्का भेट भएको थियो ।
यसअघि फेसबुकमार्फत स्टाटस लेख्दै हरिवंशले आफूलाई प्रचारको लागि आग्रह नगरिदिनको लागि उम्मेदवारलाई ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया 4