
३ कात्तिक, काठमाडौं । नेवाः समुदायको भावनामाथि आँच पुर्याएको अभियोगमा दोस्रो पटक पक्राउ परेका कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले बुधबार उनको बयान नसकिएकाले फेरि अदालत उपस्थित गराइएको अनलाइनखबरलाई बताए ।
युट्युब च्यानल ‘कमेडी सर्कल’मा उनले दिएको प्रस्तुतिका कारण नेवाः समुदायको भावनामा आँच पुगेको भन्दै अपूर्वविरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।
पक्राउ परेको १० दिनपछि कोभिड–१९ भाइरसबाट संक्रमित भएका क्षितिजलाई हाजिर जमानीमा प्रहरीले छाडेको थियो । तर सोमबार फाइल बुझाउन लागिएको भन्दै उनलाई बोलाएर प्रहरीले फेरि नियन्त्रणमा लिएको थियो ।
अपूर्वका बुबा जयशंकर सिंहका अनुसार अदालतमा पेश गर्ने भन्दै प्रहरीले बोलाएपछि अपूर्व टेकुस्थित काठमाडौं प्रहरी परिसरमा हाजिर भएका थिए । ‘तर प्रहरीले अदृष्य शक्तिको आडमा छोरालाई थुनाउन बोलाएको रहेछ, सरकारी विदा भन्दै थुन्यो’, सिंहले अनलाइनखबरसँग भने, ‘बुधबार बयान सकिएन भन्दै राखियो । आज पनि अलमल गर्छन् कि भन्ने डर छ ।’
अपूर्व क्षितिज पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । भारतमा चार्टर्ड एकाउन्टेन्ट पढेका उनी स्ट्याण्ड अप कमेडीसँगै पेशालाई अघि बढाउने सोचसहित नेपाल फर्किएका थिए । बुबा जयशंकर भन्छन्, ‘अहिले बरु छोराले भारतमा पाएको राम्रो अवसर छाडेर किन नेपाल आयो जस्तो लाग्छ ।’
छोरा पक्राउ परेपछि काठमाडौं आएका बुबा जयशंकर अहिले आफैं बिरामी परेका छन् । उनले भने, ‘म बिरामी भएर कोठामै आराम गरिरहेको छु, छोराको साथी अदालतमा छ ।’
प्रतिक्रिया 4