
३ कात्तिक, काठमाडौं । काठमाडौंका मिठाइ पसल छिर्दा यहाँको सुन्दर र अकर्षक सजावटले जो कोहीको ध्यान खिच्छ । तर, मिठाइ पसलको आकर्षक देखिने सजावट जस्तो त्यसको उत्पादन र भण्डारण भने फोहोर र दुर्गन्धित रहेको पाइएको छ ।
बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरु त्रिपुरेश्वरको एक मिठाइ पसलको भान्सामा पुग्दा दुर्गन्धले टिक्नै सकेनन् । शालिमार हस्पिटालिटी एण्ड फुड्स प्रालिको मिठाइ पसलको भान्सा अत्यन्तै दुर्घन्धित अवस्थामा पाइएको विभागका खाद्य निरीक्षक पदमराज भुसालले बताए ।
‘हेर्दा बाहिर सुन्दर देखिने मिठाइ पसलको भान्सा यतिसम्म फोहोर हुन्छ भन्ने सोचेकै थिइनँ,’ भुसालले अनलाइनखबरसँग भने, ‘हरेकदिन मिठाइ बनाउने र प्रशोधन गरिने पसलको भान्सा निकै फोहोर र दुर्गन्धित पाइयो ।’ भान्सा फोहोर देखेपछि २४ घण्टाका लागि मिठाइ पसल बन्द गरी सरसफाइ गर्न र सरसफाइ सकेको विवरणसहित विभागमा निवेदन दिन निर्देशन दिएको भुसालले बताए ।
शालिमारकै न्यूरोडको पसलमा पनि अनुगमन क्रममा कैफियत फेला पर्यो । एउटै तेल धेरै पटक मिठाइ बनाउन प्रयोग गरेको पाइएपछि ३ लिटर गुणस्तर बिग्रिसकेको तेल नष्ट गरेको विभागले जनाएको छ ।
अनुगमनको क्रममा न्यूरोडकै गौतम स्वीट्स, काठमाडौं-३२ मा रहेको रामेश्वरम स्वीट्स, तीनकुनेमा रहेको सहयोगी नेपाल स्वीट्स सेन्टरको भान्सामा झिंगा, साङ्ला लगायतका अन्य किरा भेटिएको विभागले जनाएको छ ।
गोठाटारमा रहेको डोटेल डेरीफर्मले पनि सरसफाईमा ध्यान नदिएपछि विभागले तत्काल सफाइ गर्न निर्देशन दिएको थियो ।
विभागका अनुसार पटक पटक अनुगमन गरेर गुणस्तर सुधार गर्न निर्देशन दिए पनि मिठाइ पसलहरुले यसको निरन्तर उल्लंघन गरिरहेका छन् । यस अघि पनि गुणस्तररकै विषयमा कारबाहीमा परेको शालिमार मिठाइ पसल पुनः उस्तै प्रकृतिको विवादमा मुछिएको विभागका अधिकारीहरु बताउँछन् ।
विभागले मिठाइ पसललाई सरसफाइमा विशेष ध्यान दिन भन्दै मिठाइको गुणस्तर जाँच गर्न केही नमुना संकलन गरेर ल्याइको जनाएको छ ।
काठमाडौं महानगरपालिकाकोले १ कात्तिकमा बानेश्वर क्षेत्रका होटल तथा रेष्टुराँहरुको अनुगमन गर्दा कतै कुहिएको मासु कतै भान्सामै कर्मचारीले खाना खाइरहेको फेला पारेको थियो ।
प्रतिक्रिया 4