+

गण्डकीमा भलिबल क्रेज : टिकट काटेरै खचाखच दर्शक

२०७९ कात्तिक  ३ गते १५:५२ २०७९ कात्तिक ३ गते १५:५२

सुरुका दिनमै ३५००- ४००० दर्शक टिकट काटेरै गेम हेर्न पुगे । ठाउँ नपुगेपछि टिकट मूल्य बढाइयो । तर पनि दर्शक घटेनन्, झन् बढेर गए ।

गण्डकीमा भलिबल क्रेज : टिकट काटेरै खचाखच दर्शक

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत बिहीबार भएको पुरुषतर्फको भलिबलमा विभागीय टिम त्रिभुवन आर्मीलाई स्तब्ध पार्दै अर्को विभागीय टिम एपीएफले स्वर्ण पदक जित्यो ।

पोखरा रंगशालास्थित भलिबल मैदानमा फाइनल खेल जति प्रतिस्पर्धात्मक थियो, त्योभन्दा बढी रौनक थियो, खचाखच दर्शक र उनीहरुको चर्को हुटिङको ।

४ दशकपछि गण्डकीमा दोस्रो पटक भएको राष्ट्रिय खेलकुदमा यसपटक कमजोर व्यवस्थापनले गर्दा स्थानीयबासिन्दाको साथ नपाएको आरोप सुरुवातदेखि नै लागिरहेको भए पनि भलिबलमा भने अपवाद् रह्यो ।

रंगशालाको गेट नजिकै भएको भलिबल मैदानमा सुरुदेखि नै दर्शकले राम्रो साथ दिइरहे, त्यो पनि टिकटै काटेर । भलिबल संघको अगुवाइमा समूह चरणको खेलमा एक सय रुपैयाँ टिकट काटिएको भए पनि त्यसपछि पनि दर्शकलाई थेग्न हम्मेहम्मे परेपछि त्यसलाई बढाएर २ सय रुपैयाँ पुर्‍याइयो ।

तर, टिकट मूल्य बढाउँदा पनि दर्शक घटेनन्, झन् बढेर गए । ‘सुरुका दिनमै ३५००-४००० दर्शक टिकट काटेरै गेम हेर्न आउनुभयो । अरु गेममा टिकट नकाटे पनि भलिबलमामात्रै किन काटेको भनेर केहीले गुनासो पनि गर्नुभयो । तर, यसको व्यवस्थापनका लागि यही आवश्यक थियो,’ भलिबल संघ गण्डकीका महासचिव टहलसिंह थापा भन्छन्, ‘भलिबल गण्डकीको उर्वर भूमि भएर पनि हो ।’

थापाले भनेजस्तै भलिबलको क्रेज पोखरा रंगशालामा भएको पुरुष स्पर्धामा मात्रै नभएर म्याग्दीमा भएको महिला प्रतियोगितामा पनि उस्तै थियो । बेनीको मैदानमा महिला भलिबल हेर्न पनि दर्शकको भीड थियो ।

बेनीमा भएको महिलातर्फको फाइनल हेर्न उपस्थित दर्शक । तस्वीर : सुदर्शन रञ्जित/अनलाइनखबर

बिहीबार पोखराको फाइनल खेलमा भित्र मैदानमा बस्ने ठाउँसमेत नपाएपछि केही दर्शक मुर्मुरिँदै बाहिरिन बाध्य पनि भए ।

कतिले त भलिबलको लागि ठाउँ सानो भएकोसमेत गुनासो गर्न भ्याए । ‘आधाभन्दा बढी मान्छे अफिसियल नै बसेका छन् । भित्र बस्ने ठाउँ नभएपछि त टिकट नबेच्नु नि, टिकट लिएर आयो बस्ने ठाउँ नै छैन,’ पोखरा फूलबारीदेखि भलिबल हेर्न आएका तनहुँका मिलन गुरुङको गुनासो थियो ।

आर्मी र एपीएफबीचको खेल हेर्न उपस्थित दर्शक । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत नै त्रिकेट, फुटबललगायत लोकप्रिय खेल पनि यसपटक दर्शकको रोजाइमा परेन । उनीहरुको रोजाइमा भलिबल नै पर्‍यो । दिनको चर्को घामको समेत वास्तै नगरी भलिबल हेर्न भ्याए । उद्घाटन समारोहलाई समेत साथ नदिएका पोखरेलीले भलिबललाई भने राम्रै साथ दिए ।

पोखरामा मात्रै नभई गण्डकीमै भलिबलको राम्रो क्रेज रहेको टहलसिंह बताउँछन् । राष्ट्रिय पुरुष टिमको कप्तानी नै सम्हालिरहेका कास्की रुपा गाउँपालिका मानबहादुर श्रेष्ठ हुन् या महिला टिमको नेतृत्व गरिरहेकी म्याग्दीकी अरुणा शाही, सबै गण्डकीकै उत्पादन हुन् । राष्ट्रिय टिममा पनि अधिकांश गण्डकीकै खेलाडीको दबदबा छ ।

आर्मी र एपीएफबीचको खेल हेर्न उपस्थित दर्शक । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यद्यपि, घरेलु मैदानमै सेमिफाइनलमा एपीएफसँग हार व्यहोर्न पुगेको थियो । करिब ४ दशकअघि गण्डकीमा भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले भलिबल प्रतियोगितामा स्वर्ण पदक हात पारेको थियो ।

गण्डकीमा भलिबल क्रेज भएकै कारण दर्शक बटुल्न पनि प्रत्येक साना, ठूला मेलामा पनि भलिबल समावेश गरिएको हुन्छ । त्यसबाहेक पनि राष्ट्रियस्तरका भलिबल प्रतियोगिता पनि हुँदै आएका छन् । पोखरामा हुने टाइगर कप, मुख्यमन्त्री कप, लामाचौर भलिबल प्रतियोगिता लगायतमा पनि भलिबलमा दर्शकको राम्रो साथ मिल्ने गरेको छ ।

ढोरपाटन भलिबल नवौं राष्ट्रिय खेलकुद
लेखक
विकास रोकामगर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय