+
+

स्वतन्त्रमा महत्वाकांक्षाको भारी, भिजनको खडेरी

पुराना दलहरूमा देशको राजनीतिक, आर्थिक कार्यदिशा र गन्तव्य सम्बन्धी दूरदृष्टि नभेट्टाएका मतदाताले नयाँ पार्टी वा समूहमा देश विकासको स्पष्ट भिजन भएन भने हामी भ्रष्टाचार गर्दैनौं, इमानदार भई काम गर्छाैं भनेकै भरमा नपत्याउन सक्छन् ।

नारायणप्रसाद चापागाई नारायणप्रसाद चापागाई
२०७९ कात्तिक ३ गते १५:४५

गत स्थानीय तहको चुनावमा कुनै राजनीतिक पृष्ठभूमि नभएका केही स्वतन्त्र युवा पालिका प्रमुखमा निर्वाचित भएसँगै नेपालको राजनीतिमा युवावर्गको चासो र रुचि बढेको देखिन्छ ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको लागि दलभित्र भन्दा दलबाहिर रहेर स्वतन्त्र उम्मेदवारी दिने युवा बढी छन् । सत्तामा पुुग्नको लागि लामो राजनीति गरेको र जेलनेल भोगेको हुनुपर्छ भन्ने स्थापित मान्यतामा बदलाव आउँदैछ ।

नेपालका समकालीन राजनीतिक दलहरूले सरकारमा रहँदा सुशासन र प्रभावकारी सेवा दिन सकेनन् । जनताको अवस्था बदल्न सकेनन् । भ्रष्टाचार र अनियमिततामा डुुबेको जस्ता आरोप लगाएर आफू निर्वाचित भएर सरकारमा पुुगे तर, जनतालाई सर्वसुलभ सेवा दिन सकेनन् । भ्रष्टाचारका एक–एक फाइल खोल्न सकेनन् ।

सबै नेताको सम्पत्ति राष्ट्रियकरण गर्ने काम चुनावी भाषण र दस्तावेजमा मात्र सीमित रहे । रातारात विकास गरी देशको कायापलट गरिदिने भाषण अब जनताले पत्याउन छाडे । देशमा विकास र समृद्धिको मूल फुटाइदिने जस्ता सतही भाषण ठोकेर सत्ताको भर्‍याङ चढ्न खोज्ने वैकल्पिक दल वा समूहमा यतिखेर अधिकांश युवा सम्मिलित छन् । यसमध्ये रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी बढी चर्चित छ ।

उता सचेत नेपाली पार्टी खोलेका पुण्य प्रसाईं, नेपाल सुशासन पार्टीका रमेश खरेललगायत व्यक्तिहरू पनि आफू वैकल्पिक शक्ति एक भएर जानुपर्नेमा कटिबद्ध भएको र पहलकदमी लिएको भए पनि केही व्यक्तिको निहित स्वार्थकै कारण एक भई जान नसकेको दुहाई दिइरहेका छन् ।

अर्काेतिर, स्वतन्त्र भनेर लौरो अभियान चलाएका व्यक्तिहरू पनि हाम्रो नेपाली पार्टीको नामले चुनावमा होमिएका छन् ।

यसबाहेक व्यक्तिगत रूपमा स्वस्फूर्त स्वतन्त्र उम्मेदवारी दिने युवा पनि धेरै छन् । केही व्यक्तिहरू पार्टीबाट विद्रोह गरेर स्वतन्त्र रूपमा उम्मेदवारी दिएको अवस्था पनि छ । केही वागी उम्मेदवारहरूले पनि आफूलाई स्वतन्त्र भन्न रुचाउँछन् ।

स्थानीय तहको चुनावमा धरान र काठमाडौंमा स्वतन्त्र उम्मेदवार विजयी भएपश्चात् हौसिएका केही समूह र व्यक्तिहरू स्वतन्त्रको ट्याग भिरेर सत्ताको भ¥याङ उक्लिन चाहन्छन् । यसरी वैकल्पिक शक्ति मानिएका उपरोक्त दल र समूह सत्ताको रसस्वादनका निम्ति तँछाडमछाड गरिरहेको देखिन्छन् । तर देशको समृद्धि, सुशासन, आर्थिक, सामाजिक विकास, सार्वभौमिकता र सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीति जस्ता विषयमा यी समूहको स्पष्ट धारणा र मार्गचित्र पाइँदैन ।

समकालीन राजनीतिक दलहरूले राजनीतिलाई सत्ता र कुर्सीमा पुुग्ने माध्यम बनाएको तर जनतालाई सर्वसुलभ प्रभावकारी सेवा दिन नसकेको, अवस्था बदल्न नसकेको उल्टै महँगी र करको भार थोपरेपछि आजित जनताले विकल्प खोज्नु स्वाभाविक हो ।

जनताको यही सेन्टिमेन्टलाई क्याच गरेर पुराना राजनीतिक दलहरूलाई गाली गरेकै भरमा आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा केही वैकल्पिक समूहका उम्मेदवार विजयी हुन सक्लान् । तर चुनाव जित्ने कुरा महत्वपूर्ण होइन । जितेको प्रतिनिधिले जनताको पक्षमा कति काम गर्न सक्छ त्यो महत्वपूर्ण हो । विजयी प्रतिनिधिले जनताको पक्षमा र सुशासनको पक्षमा नीतिगत व्यवस्था गर्न कत्तिको सक्षम हुन्छ, त्यो महत्वपूर्ण हो ।

रविको बारेमा चर्चा गर्दा उनले सञ्चारमाध्यमबाट केही पीडितहरूलाई न्याय दिने केही प्रयास गरे । असहाय र आवाजविहीनहरूलाई उनले पत्रकारको कर्मभन्दा माथि रहेर सहयोग गरे, त्यो बेग्लै पाटो हो । त्यही पाटोलाई राजनीतिमा जोडेर उता सफल भएको वा विश्वास जितेको मान्छे यता पनि सफल हुन्छ भनेर ढुक्क हुन सकिंदैन ।

अहिले रवि राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष छन् । उनी उक्त पार्टीको अध्यक्ष मात्रै होइनन्, ब्राण्ड हुन्, प्राधिकार हुन् । अधिकांश जनताले उनलाई टिभीमा सिधा कुरा जनतासँग चलाएकै भरमा चिनेका हुन् । उक्त कार्यक्रममार्फत उनले गरेको कर्मले एकाएक उनको प्रसिद्धि चुलिएको हो । उनलाई बाहेक राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य पदाधिकारीलाई धेरैले चिन्दैनन् ।

पार्टी निर्माणको चरणमा उनले वैकल्पिक राजनीतिक धारमा रहेका आशलाग्दा अनुहारलाई समेट्न सकेनन् । सत्तासीन दलहरू सत्तास्वार्थका लागि जे पनि गर्न तयार हन्छन् भनेर कत्लेआम गाली गर्नेहरू सत्तामा उक्लिनकै लागि पनि एकजुट हुन सकेनन् । देशको माया भएका र देश विकास गर्न चाहने वैकल्पिक भनिएका दल वा समूह एउटै छाताभित्र साझा कार्यक्रम र घोषणापत्र लिई संयुक्त रूपमा चुनावमा होमिनुपर्ने अधिकांश जनताको चाहना थियो । तर त्यसो हुन सकेन ।

जेहोस्, अहिले अलग–अलग निर्वाचनमा होमिए पनि निर्वाचित भइसकेपछि राष्ट्रिय महत्वका सबालमा यी वैकल्पिक युवा शक्ति एकजुट हुनेछन् र मिलेर अघि बढ्नेछन् भन्ने आशा गरौं ।

चितवनको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभाको उम्मेदवार बनेका रवि लामिछाने यतिखेर सर्वत्र चासोको विषय बनेका छन् । यतिखेर उनी चितवनमै डेरा गरेर घरदैलो कार्यक्रमलाई अघि बढाइरहेका छन् । एकजना पत्रकारको केसमा चितवन २ नं. क्षेत्रका बासिन्दा आफ्नो न्यायको लागि लडेको र अब आफू ती बासिन्दाको न्यायको लागि लड्ने भनेर वक्तव्य दिइरहेका छन् ।

चोरलाई चोर हो भन्नको लागि राजनीति सिक्नुनपर्ने, भ्रष्टाचार नगर्नको लागि राजनीति सिक्नु नपर्ने, पानी परेको बेलामा बाटो पिच गर्नुहुँदैन भन्नको लागि राजनीति सिक्नुनपर्ने र आफूले त्यस्तो राजनीति नसिक्ने भन्ने रविको तर्क छ । तर उनले आफ्नो पार्टीले विकासका कुन क्षेत्रमा कुन मोडलद्वारा कस्तो रणनीति, कार्यनीति र कार्यक्रम अख्तियार गरी अघि बढ्न चाहेको हो ? पार्टीको कार्यदिशा के हो ? देशको समृद्धि र आर्थिक पुनरुत्थानको लागि पार्टीको एजेण्डा के हो ? भन्ने सम्बन्धमा न त उनको पार्टीको स्पष्ट मार्गचित्र आउन सकेको छ न त उनले आफ्नो भाषणमा यस्ता कुराहरू गर्छन् ।

राजनीति भनेको केवल सरकारको तर्फबाट जनतालाई दैनिक रूपमा प्रवाह हुने सामान्य सेवा वा साधारण विकास व्यवस्थापन मात्रै होइन । यो त राज्य सञ्चालनकोे महत्वपूर्ण नीति हो । राज्यको समग्र गन्तव्य र लक्ष्यमा पुुग्ने नीति हो । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिंचाइ, विद्युत्, इन्धन, पर्यटन, उद्योग जस्ता विकासका पूर्वाधारमा राज्य र निजी क्षेत्रले के कति भूमिका खेल्ने ? के कति क्षेत्रमा राज्यको एकल अधिकार रहने ? कुन कुन पक्षमा निजी क्षेत्रहरूबीच प्रतिस्पर्धा गराउन सकिने ? अर्थतन्त्र पूँजीवादी, साम्यवादी वा समाजवादी केलाई प्राथमिकता दिने ? आयातमुखी अर्थतन्त्रलाई कसरी निर्यातमुखी बनाउने ?

त्यसको लागि निर्यातमा कर छुुटको व्यवस्था मात्रै पर्याप्त हुन्छ या उत्पादकत्व अभिवृद्धि गर्ने नीतिगत व्यवस्था गर्न जरूरी छ ? देशको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न विद्यमान कुन–कुन नीतिगत व्यवस्था संशोधनको जरुरत छ ? नेपालको लागि तुुलनात्मक लाभको क्षेत्र मानिएको जलविद्युत्, पर्यटन र कृषि लगायत क्षेत्रको जीडीपीमा भएको विद्यमान योगदानलाई अभिवृद्धि गरी रेमिट्यान्सबाट धानिएको अर्थतन्त्रलाई दिगो उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्र बनाउन के गर्नुपर्छ ?

दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्म पूरा गर्नुुपर्ने विकासका लक्ष्य पूरा गर्ने सम्बन्धमा प्रष्ट मार्गचित्र के हो ? २० खर्ब नाघेको सार्वजनिक ऋण र १० खर्बको हाराहारीमा रहेको बेरुजुको समाधान के हो ?

राज्यको शक्ति–पृथकीकरण र सन्तुलनको लागि राज्यका तीन अंगको हालको कार्यक्षेत्र र सम्बन्धमा कुनै सुधार गर्नुुपर्नेछ वा छैन ? संघीय प्रणालीअन्तर्गतको तीन तहको प्रावधान कति उपयुक्त वा अनुपयुक्त ? विद्यमान सुधारिएको संसदीय व्यवस्था वा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था ? विद्यमान निर्वाचन प्रणाली वा फरक विकल्प ? नागरिकतासम्बन्धी नीति कस्तो हुने ? राज्यका महत्वपूर्ण अंगमा आरक्षणको व्यवस्था कहिलेसम्म ? भ्रष्टाचार र अनियमितता रोकथामको लागि कस्तो नीतिगत र संरचनागत व्यवस्था ? तटस्थ र असंलग्न परराष्ट्र नीति वा न्यायसंगत आधारमा संलग्न हुने सन्तुलित परराष्ट्र नीति ? अन्तर्राष्ट्रिय सहायता स्वीकार र परिचालनसम्बन्धी नीति कस्तो हुने ? यी र यस्ता यावत् प्रश्नमा न त पुराना राजनीतिक दलहरूले न वैकल्पिक राजनीतिक दल वा समूहले नै मतदाताको बीचमा देशको समग्र विकासको मोडलसम्बन्धी कार्ययोजनासहितको स्पष्ट घोषणापत्र ल्याएको अवस्था छ ।

पुराना दलहरूमा देशको राजनीतिक, आर्थिक कार्यदिशा र गन्तव्यसम्बन्धी दूरदृष्टि नभेट्टाएका मतदाताले नयाँ पार्टी वा समूहमा देश विकासको स्पष्ट भिजन भएन भने हामी भ्रष्टाचार गर्दैनौं, इमानदार भई काम गर्छाैं भनेकै भरमा नपत्याउन सक्छन् । शिक्षित, सचेत र प्राज्ञिक व्यक्तिहरूले चनाखोपूर्वक उपरोक्त सबालमा उदीयमान दलहरूको स्पष्टता खोजिरहेका छन् । तर यस्ता सबालमा एकाध समूहका अलावा धेरै दल वा समूह हालसम्म मौन छन् ।

आशा गरौं, छिट्टै नै राजनीतिक दल वा स्वतन्त्र व्यक्तिहरू नेपाली जनताको बीचमा राष्ट्र विकासको सुुस्पष्ट एजेण्डा लिएर पुुग्नेछन् । मुलुकको समग्र विकाससँग सम्बन्धित उल्लिखित महत्वपूर्ण सबालहरूमा सुस्पष्ट मिसन भएको, स्पष्ट भिजन भएको र निष्ठाको राजनीति गर्ने दल, समूह वा व्यक्ति आसन्न निर्वाचनमा विजयी होऊन्, शुुभकामना ।

(लेखक वीरगंज महानगरपालिकामा अधिकृत छैटौं तहमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?