
३ कात्तिक, काठमाडौं । नेवाः समुदायको भावनामाथि चोट पुर्याएको अभियोगमा दुई पटक प्रहरी नियन्त्रणमा परेका कमेडियन अपूर्व क्षितिज सिंहले आफ्नो उद्देश्य हँसाउनुबाहेक अरु नभएको बताएका छन् ।
जिल्ला अदालत, काठमाडौंमा बयान दिँदै उनले १० भदौ २०७९ मा नेवाःको परम्परा शीर्षकमा युट्युब भिडियो अपलोड गरेको बताएका छन् । तर भिडियोको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत विरोध भएपछि भोलिपल्ट नै युट्युबबाट हराएको उनले न्यायाधीशसमक्ष बताएका छन् ।
‘भिडियोमार्फत मैले नेवार समुदायको भाषा, धर्म, संस्कृति, परम्परा, प्रथा, रीतिस्थिति, रहन सहनसमेतको विषयलाई लिएर अमानवीय व्यवहार, जातीय सद्भाव तथा सम्प्रदाय खल्बल्याएर जातीय द्वेष, रिस, आवेग तथा उत्तेजना फैलाउने कार्य गरेको छैन’, अपूर्वले सरकारी वकिलसमक्ष वयानमा भनेका छन्, ‘मैले नेवार समुदायको भाषा, धर्म, संस्कृति, परम्परा समेतको विषयलाई लिएर अमानवीय व्यवहार, जातीय सद्भाव तथा सम्प्रदाय खल्बल्याएर द्वेष फैलाउने गरी ती शब्दहरु प्रयोग गरेको होइन ।’
उनले ती शब्दहरु मनोरञ्जनका लागि मात्रै प्रयोग गरेको भनेका छन् । अपूर्वले भिडियोमा नेवाः समुदायको भाषा, संस्कृति, परम्परा, रहनसहनसमेतलाई अमानवीय व्यवहार गरेको भन्दै पृथविन्द महर्जनसहित ११ जनाले जिल्ला प्रहरी परिसर, काठमाडौंमा संयुक्त निवेदन दिएका थिए ।
निवेदनमा महर्जनले ‘कमेडीको नाममा होच्याउने, नेवारी खानाका परिकारलाई लिएर धज्जी उडाउने, बेल विवाह जस्तो पवित्र धार्मिक संस्कृतिलाई जोडेर नारी अस्मितामाथि प्रहार गरेको’ भनिएको छ ।
निवेदनमा अपूर्वले कमेडीमा प्रयोग गरेको ‘तपाईंको श्रीमान् मरिसक्यो, तपाईंको श्रीमान त दजारमा छ, श्रीमान त मक्की सक्यो, विधुवा भइसक्यो, चुरा फुटाउनु’ जस्ता शब्द प्रयोग गर्नुले आफूहरुको भावनामा आँच पुगेको भनिएको छ । उनीहरुले अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने कसूरमा पनि अर्को निवेदन दिएका थिए ।
अपूर्वविरुद्ध सामाजिक रीतिस्थिति र सार्वजनिक शान्तिमा खलल पुर्याएको अभियोग पनि लगाइएको थियो । प्रहरीले उनलाई पहिलो पटक पक्राउ गरेर झण्डै दुई साता हिरासतमा राखेको थियो । तर, भिडियो डिलिट गर्दा पनि प्रतिसोध साँधेर हिरासतमा राखिएको भन्दै विरोध भएपछि जाहेरीकर्ता र सिंहको परिवारबीच छलफल भएको थियो ।
तीब्र दबावबीच अपूर्वलाई २३ भदौ २०७९ मा कोरोना भाइरस संक्रमण पुष्टि भयो । त्यसपछि सरकारी वकिलको रोहबरमा छाडिएको थियो । तर, ३१ असोजमा उनलाई पुनः प्रहरीले पक्राउ गरेर थुनामा राखेको थियो । प्रहरीले ‘अदृश्य शक्तिको आड’मा अपूर्वलाई दुःख दिएको उनका बुबा जयशंकरले अनलाइनखबरसँग प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया 4