
काठमाडौं । ‘ऐना झ्यालको पुतली’ फेम्ड निर्देशक सुजित बिडारीले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा फिल्मकर्मीलाई ‘मास्टरक्लास’ दिने भएका छन् । सुजितले ११ औं संस्करणको नेपाल युरोपियन फिल्म महोत्सवमा अन्तिम दिन फिल्ममेकिङ सम्बन्धी कक्षा दिने भएका हुन् ।
फेस्टिभलको ११ औं संस्करण यो पटक काठमाडौंसँगै पहिलोपल्ट सुर्खेतमा पनि हुँदैछ । मध्यपश्चिम विश्वविद्यालयमा चार दिन चल्ने फिल्म महोत्सवमा ५ युरोपियन र ३ नेपाली फिल्म प्रदर्शन हुनेछन् ।
यसरी प्रदर्शन हुने तीन नेपाली फिल्ममा सुजित बिडारी लिखित तथा निर्देशित ‘ऐना झ्यालको पुतली’ पनि रहेको छ । महोत्सव कात्तिक १९ गते सुरु भएर २२ गते सकिनेछ ।
मास्टरक्लासमा आफ्नो अनुभव बाँड्न उत्साहित सुजितले महोत्सवको अन्तिम दिन फिल्ममेकिङ सम्बन्धी आफ्नो ज्ञान बाँड्नेछन् । सुजितले कात्तिक २२ गतेको पहिलो प्रहरमा नै फिल्म बनाउन चाहिने कथादेखि त्यसलाई खिच्ने तरिकासम्मको बारेमा छलफल गर्ने जानकारी गराए ।
उनले भने, ‘मास्टरक्लासमा मैले फिल्म बनाउन चाहिने आइडियादेखि त्यो आइडियालाई कथा हुँदै पटकथामा रुपान्तरण गर्ने र अन्त्यमा त्यसलाई दृश्यमा रुपान्तरण गर्ने प्रक्रियाको बारेमा आफ्नो अनुभव बाँड्नेछु ।’
ओस्कार कलेजबाट फिल्म मेकिङमा स्नातक सुजितले मास्टरक्लासको दौरानमा सर्ट फिल्म देखाउँदै अन्तरक्रिया अगाडि बढाउने बताएका छन् । यो दौरानमा सुजितले आफू निर्देशित ‘सावित्री’सँगै विश्वप्रसिद्ध सर्ट फिल्म पनि देखाउने जानकारी गराए ।
नेपाल युरोपियन फिल्म महोत्सवको ११ औं संस्करण काठमाडौंमा भौतिक रुपमा कात्तिक ११ देखि १५ गतेसम्म चलचित्र विकास बोर्डको हलमा चल्दैछ भने अनलाइनमा अक्टोबर २८ देखि नोभेम्बर २८ सम्म हेर्न पाइनेछ ।
प्रतिक्रिया 4