
६ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाले आइतबारदेखि तिहारभर फुटपाथ क्षेत्रमा व्यापार गर्न दिने भएको छ । महानगरले तिहारको भाइटिकाको दिन बिहान १० बजेसम्मका लागि फुटपाथ खुल्ला गरेको महानगरले जनाएको छ ।
ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुको अनुसार सडकपेटी र सडक बाहेकका महानगरका खाली स्थानमा आइतबारदेखि फुटपाथ व्यवसाय खोलेको हो । ‘ललितपुरको लगनखेल, बसपार्क क्षेत्र, सातदोबाटोमा रहेको खाली क्षेत्र, भनिमण्डल, बखुण्डोल, मंगलबजार सहित विभिन्न क्षेत्रमा फुटपाथ व्यवसायीलाई महानगरले निर्वाध काम गर्न दिनेछ । तिहारको अवसरमा गोदावरी सहित विभिन्न क्षेत्रका स्थानीय साना व्यापारीलाई लक्षित गरेर फुटपाथ खुल्ला गर्न दिएको हो’ हाछेथु भन्छन् ।
फुटपाथ व्यवस्थित गर्नै महानगरले प्रहरी समेत खटाएको हाछेथुले बताए । उनले स्थानीय उत्पादनलाई सिधै उत्पादनकर्ताले नै फुटपाथमा बेच्दा सस्तो पर्ने भन्दै बिचौलियालाई रोक्न नगर प्रहरीले काम गर्ने बताए ।
प्रतिक्रिया 4