+
+

हवाई सुरक्षा बढाउन एप्लिकेसनदेखि क्यामेरासम्मको प्रयोग हुँदै  

अच्युत पुरी अच्युत पुरी
२०७९ कात्तिक ६ गते १४:३५
फाइल तस्वीर

६ कात्तिक, काठमाडौं । नेपालको हवाई सुरक्षा बढाउन हाइटेन्सन लाइन तथा तार हेर्न एप्लिकेसनको प्रयोग गरिने भएको छ । यस्तो सुविधा हेलिकप्टर उडानमा प्रयोग हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार नेपालमा हेलिकप्टरको उडानमा विद्युतीय तारबारले जोखिम निम्त्याउने गरेको छ ।

बढी जोखिमपूर्ण मानिने डाँडाहरुमा क्यामेरा जडानको काम समेत धमाधम भइरहेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार यसले उडानपूर्व त्यस क्षेत्रको अवस्था पत्ता लगाउन सहयोग गर्नेछ । खासगरी इनरुटको मौसमी अवस्था थाहा नहुँदा उडान हुने र पुग्ने गन्तव्यको मौसम राम्रो भएको अवस्थामा अहिले उडानको अनुमति दिने गरिएको छ । प्राधिकरणका अनुसार राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा अहिले यस्तो काम भइरहेको छ ।

अर्कोतर्फ मौसमी अवस्था थाहा पाउन माइक्रो टावरको अवधारणा समेत भित्राउने तयारी छ । यसले मौसमी सूचना सही हुने प्राधिकरणको अपेक्षा छ । नेपाललाई अन्तर्राष्ट्रिय नियामक निकायहरुले खासगरी दुर्गम भेगमा हुने दुर्घटना न्यूनीकरणमा काम गर्न सुझाव दिइरहेका छन् । यी सुझाव कार्यान्वयन गर्न समेत प्राधिकरणले हवाई सुरक्षाका लागि चाहिने पूर्वाधारमा काम गरिरहेको बताएको छ ।

उड्नु अगाडि अनिवार्य जोखिम मूल्यांकन

प्राधिकरणका अनुसार आन्तरिक उडानका हरेक उडान अगाडि अनिवार्य जोखिम मूल्यांकन गर्नुपर्ने नियम समेत कार्यान्वयनमा ल्याइएको छ । यो नियम संसारमा अनिवार्य नभए पनि नेपालमा गरिएको महानिर्देशक अधिकारीले बताए । यसबाट समेत हवाई सुरक्षा बढाउन सहयोग पुग्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय निकायले समथर भूगोलमा हुने र नेपालजस्तो भूगोल भएको आकाशलाई एकै स्थानमा राखेर मूल्यांकन गर्ने गरेको भन्दै नेपालले भने यस्तो मूल्यांकन फरक फरक हुनुपर्ने तर्क गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को अडिटबाट नेपालले ७०.१ प्रतिशत परिपालना दर प्राप्त गरेको छ । यो अडिटमा हवाई सुरक्षा तथा नियमन र दुर्घटना जाँचसँग सम्बन्धित विषयहरु पर्छन् । ती विषयमा आईकाओले उठाएका चासो सम्बोधन गर्न क्यामेरा जडानदेखि जोखिम मूल्यांकनसम्मका गतिविधि जारी रहेको प्राधिकरणको भनाइ छ । ‘अडिट सकियो, अब हामीलाई पुग्यो भन्ने हुँदैन, हामीले निरन्तर काम गर्नुपर्ने हुन्छ’ अधिकारीले भने ।

नेपालजस्तै भूगोल भएका मुलुक र नेपालको दुर्घटना दरको तुलना गर्दा नेपालको दुर्घटना कम भएको भन्दै यसमा पछिल्लो समय थपिएका पूर्वाधार र नियमनमा गरिएको कडिकडाउको नतिजा भएको प्राधिकरणको भनाइ छ । पछिल्लो समय गत जेठमा मुस्ताङमा जहाज दुर्घटना भएको थियो । दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो । पछिल्लो दुर्घटनापछि युरोपेली युनियनबाट समेत नेपालको अडिट भइसकेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?