
६ कात्तिक, बुटवल । रुपन्देही उद्योग संघले १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव आगामी पुस दोस्रो साता बुटवलमा सञ्चालन गर्ने भएको छ ।
नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँगको संयुक्त आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ नाराका साथ पुस ७ देखि १९ गतेसम्म बुटवल मण्डपमा महोत्सव गर्ने भएको हो । विगतमा बुटवल मण्डपमा मेला महोत्सव हुँदै आएकोमा प्रदर्शनी केन्द्र र सम्मेलन केन्द्र निर्माणका क्रममा हुँदा ५ वर्षदेखि यहाँ प्रदर्शनी सञ्चालन हुन सकेको थिएन ।
स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले हुने प्रदर्शनीमा यसपटक कृषि, प्रविधि र पर्यटनलाई समेत विशेष प्राथमिकता दिइने आयोजक मूल समितिका संयोजक माधव प्रसाद पौडेलले बताए ।
बुटवल मण्डपमा निमार्णाधीन आधुनिक प्रदर्शनीस्थलमा नयाँ व्यवस्थापन र संरचनामा पहिलो पटक आयोजना गर्न लागिएको प्रदर्शनीमा स्वदेशी उत्पादन, नया प्रविधि, पर्यटन तथा कृषि लगायतका छुट्टछुट्टै पेभिलियनको व्यवस्था गरिने छ ।
प्रदर्शनीको तयारीलाई व्यवस्थित गराउन ३१ वटा विभिन्न उपसमिति गठन गरिएको प्रदर्शनीमा चार सय बढी स्टल रहने प्रबन्धक यादव भण्डारीले जानकारी दिए । स्थायी प्रदर्शनीस्थल नहुँदा विगतमा आयोजक, स्टलधनी र उपभोक्ताले धुलो र फोहोरको सास्ती खेप्नु परेको थियो भने आयोजकले स्टल र सचिवालय निर्माणमा लाखौं खर्च गर्नुपर्ने वाध्यता थियो ।
६ बिघा क्षेत्रफलमा बनेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा औद्योगिक प्रदर्शनी हुने भएपछि दर्शक र उपभोक्तालाई सहज हुने संयोजक पौडेलले बताए ।
८ सय वटासम्म स्टलहरु राख्न मिल्ने प्रदर्शनी केन्द्रका स्टलहरुलाई आवश्यकता अनुसार घटाउन÷बढाउन मिल्ने गरी डिजाइन गरिएको छ ।
प्रतिक्रिया 4