+
+

हालसम्म ७८ हजारले बुझाए त्रिशुली जलविद्युतको आईपीओको बाँकी रकम

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १४:४०

६ कात्तिक, काठमाडौं । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको सेयर बापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार सेयरधनीले आवेदन दिएका छन् । कम्पनीले सेयर बापतको रकम बुझाउन गत ४ असोजदेखि आवेदन माग गरेको थियो ।

प्रतिकित्ता १० रुपैयाँ बुझाएका १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारण सेयरधनी मध्ये झण्डै ७८ हजारले बाँकी रकम चुक्ता गरेका हुन् ।

साविकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने छ । आवेदन दिने अन्तिम मिति १७ कात्तिक रहेको कम्पनीले बताएको छ । कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले अन्तिम अगावै आवेदन दिन सेयरधनीहरुलाई आग्रह गरे ।

जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निष्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक ८ प्रतिशत ब्याज दिनु पर्ने प्रावधान बमोजिम सेयरधनीले प्रति कित्ता ३ रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुनेछ ।

आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सीडीएस एण्ड क्लिरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत सेयरधनीहरुले रकम बुझाउन/आवेदन दिन सक्नेछन् । सेयरधनीहरुले यसरी रकम भुक्तानी गर्दा आस्वा शुल्क समेत तिर्नु पर्ने छैन । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले रसुवा र नुवाकोटमा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।

आयोजनाको कुल अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ७ अर्ब ४४ करोड ५६ लाख ४८ हजार रुपैयाँ रहेको छ । निर्माण अवधिको ब्याज ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कुल लागत ८ अर्व २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको । निर्माण अवधिको ब्याज बाहेकको आयोजनाको अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड रुपैयाँमध्ये ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?