
६ कात्तिक, काठमाडौं । नेपाल सुन चाँदी कला व्यवसायी संघ खोटाङले आइतबारका लागि सुन र चाँदीको नयाँ मूल्य तोकेको छ । जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार छ भने तेजावी सुनको मूल्य एक लाख ५ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला एक हजार ५ सय रुपैयाँ छ ।
संघ अन्तर्गतका जिल्लाका २१ वटा पसलमा लागू हुने यो मूल्य काठमाडौंमा भन्दा सुनमा ७ हजार र चाँदीमा २८५ रुपैयाँ महँगो छ । यसरी आफैं मूल्य तोकेर सुन र चाँदीको बिक्री भइरहेको खोटाङमा धेरै वर्ष भयो ।
खोटाङका एक जना सुन ग्राहकले अनलाइनखबरलाई उपलब्ध गराएको सुनको दररेटअनुसार गत २ कात्तिकमा काठमाडौंमा ९३ हजार २ सय रुपैयाँ तोलामा छापावाल सुनको बिक्री हुँदा खोटाङमा एक लाख एक हजार रुपैयाँमा सुन बिक्री भइरहेको थियो । काठमाडौंमा चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा बिक्री हुँदा सो दिन खोटाङमा एक हजार ५ सय रुपैयाँ थियो । यो मूल्य काठमाडौंमा भन्दा सुनमा ७ हजार ८ सय र चाँदीमा ३२५ रुपैयाँ महँगो हो ।
सुनको मूल्य खोटाङमा किन बढी ?
खोटाङमा सुन चाँदीको मूल्य तोक्न सुन चाँदी कला व्यवसायी संघ, खोटाङ गठन भएको दुई वर्ष भयो । यस संघका अध्यक्ष भीमबहादुर विककाअनुसार जिल्लाभर रहेका २१ वटा सुन चाँदी व्यवसायीहरुका लागि यसरी मूल्य तोक्न थालिएको हो ।
अध्यक्ष विककाअनुसार खोटाङमा सुनको मूल्य धेरै हुनुमा दुईवटा कारण छन् । ‘पहिलो आफूहरुले अनौपचारिक बजारबाट सुन किन्ने र त्यसको मूल्य धेरै हुन्छ, दोस्रो हामीहरु सुनमा २ लाल मात्रै जर्ती काट्छौं,’ विकले भने, ‘खरिदमै महँगो भएपछि र जर्ती कम भएपछि मूल्य धेरै पर्छ । ’
काठमाडौं र तराईका जिल्लाबाट आफूहरुले ९४ देखि ९६ हजार रुपैयाँसम्म काँचो सुनका लागि खर्च गर्नु परेको र ढुवानी भाडासमेत गरेर उक्त मूल्य निर्धारण भएको अध्यक्ष विकले बताए ।
काठमाडौंमा भन्दा तपाईंहरुकोमा सुनको मूल्य धेरै तोक्न पाइन्छ भन्ने अनलाइनखबरको जिज्ञासामा अध्यक्ष विकले आफूहरुले यसैगरी मात्रै तोकिरहेको भन्दै सुनको मूल्य कसरी तोक्ने भन्ने पनि नजानेको दाबी गरे । ‘यहाँका उपभोक्तालाई यसरी मूल्य दिने काम भइरहेको छ, कसरी मूल्य तोक्ने थाहा छैन,’ उनले दाबी गरे, ‘यसरी मूल्य तोक्न नपाउने कुरा हामीहरुलाई थाहा पनि छैन ।’ उनले सुनको मूल्य तोक्नु गलत भए तत्काल सच्याउने पनि बताए ।
यसरी सुनको मूल्य तोक्न पाइन्छ ?
नेपालभर काँचो सुनको बिक्री र मूल्य तोक्ने अधिकार नेपाल सुन चाँदी व्यवसायी महासंघलाई मात्रै छ । महासंघले हरेक दिन अन्तर्राष्ट्रिय मूल्यअनुसार नयाँ मूल्य तोक्छ र सोही मूल्य देशभर कार्यान्वयनमा आउँछ । तर खोटाङमा त्यो मूल्य कायम नहुने भन्ने नभएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
‘सुनको मूल्य काठमाडौंबाट धेरै टाढा डडेलधुरामा एक हजार रुपैयाँ बढी पर्न सक्छ । खोटाङमा पनि त्यो ढुवानी भाडामा पर्न सक्छ,’ महासचिव बज्राचार्य भन्छन्, ‘तर महासंघले तोकेको भन्दा तोलामै ७ देखि ८ हजार रुपैयाँसम्म रहनु भनेको गलत हो ।’
महासंघका अनुसार बिल नभएको सुन खरिद गरेर महँगोमा बिक्री गर्न आफैं मूल्य तोक्नु अर्को अपराध हो । खोटाङमा आफ्नो अन्तर्गतका भने कुनै पनि जिल्ला शाखा नभएको पनि महासंघले प्रष्ट्याएको छ ।
त्यसो त उपभोक्ता संरक्षण ऐनले पनि यसरी मूल्य तोक्न निषेध गरेको छ । ऐनको कार्यान्वयन गर्ने अधिकार पाएको जिल्ला प्रशासन कार्यालयले भने जिल्लामा सुनको मूल्यबारे अनभिज्ञता प्रकट गरेको छ ।
वस्तुको मूल्य निर्धारण, नियमन र उपभोक्तालाई ठगिनबाट जोगाउने उपभोक्ता संरक्षण ऐन, कालोबजारी लगायत कानुनी डण्डाको अधिकार भएको प्रशासनले सुनको मूल्य निर्धारण प्रक्रिया नै थाहा नभएको जनायो । जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पवित्राप्रसाद शाहले आफूहरुलाई यसबारे थाहा नभएको बताए । ‘हामी बुझ्छौं, यसबारे पहिलो पटक जानकारी आयो,’ सहायक प्रमुख जिल्ला अधिकारी शाहले भने ।
प्रतिक्रिया 4