
तिहार भन्नेबित्तिकै बाल्यकालको याद आउँछ । त्यसबेलाको तिहार सम्झिंदा मनै झिलिमिली भएर आउँछ । झिलीमिलीसँगै देउसी र भैलोको सबैभन्दा याद आउँछ । बाल्यकालमा हामी तिहार आउनुअघि नै देउसी खेल्न कहाँ-कहाँ जाने भनेर साथीभाइ सल्लाह गर्थ्यौं । जब लक्ष्मीपूजाको दिन आउँछ । हामी खाना पनि राम्ररी नखाई दौडिन हतार गर्थ्यौं । हामीलाई झिलिमिली बत्ती, दियो बाल्ने, पूजामा भन्दा पनि कति कमाउने भन्ने कुरामा ध्यान हुन्थ्यो ।
कोही मादल बोक्ने, कोही चामल बोक्ने झोला ठीक पार्थे, कोही धान र मकै, कोही पैसा बोक्ने र टोली दिन भर तयार गरेर हामी निस्किने गर्थ्यौं । हतारले हामीलाई लक्ष्मीपूजा कसकोमा गरेको छ छैन भनेर पनि पत्तो हुन्थेन । हामीलाई पूजा नै नसकी आए भनेर लखेट्ने गर्दथे । पूजा नै नसकिएको घरमा पनि हामी भट्याउन सुरु गर्थ्यौं ।
भट्याउन मलाई नै लगाउँथे । यसले राम्रो भट्याउँछ भन्थे । जसले भट्याउँछ उसलाई बढी पैसा दिनुपर्छ भन्दै म झगडा गर्थें, जुन अहिले पनि सम्झना आउँछ । कुनै ठाउँमा लयबद्ध तरिकाले भट्याउने गर्थ्यौं, कतै भने थाक्दै गएपछि अलि ढिलो गरेपछि अन्धाधुन्ध पनि भट्याउने गर्थ्यौं ।
ढोका नखोल्ने घरमा श्राप नै दिन्थ्यौं
स्याङ्जामा देउसी-भैलो भाइटीकापछि समेत खेल्ने गरिन्छ । हामी पनि देउसी खेल्न हामी भाइटीकाको दिनसम्म जाने गर्दथ्यौं, त्यसले पनि नभ्याए । त्यसको भोलिपल्ट समेत खेल्ने जान्थ्यौं । देउसी खेल्न जाँदा कुनै ठाउँमा थकाइ लागेको पनि खेल्दाखेल्दै मारिसक्थ्यो ।
त्यसमा पनि कहिले मकै, चामल मात्र दिन्थे । कोहीले भने सबै मिसाएर दिने गर्थे । त्यो बेला हामी बढी खुसी हुन्थ्यौं । कोहीले ५ रुपैयाँ, कोही १०/१५ रुपैयाँ दिने गर्दथे । पैसा दिने घरमा समय लगाएर आशिर्वाद दिने गर्थ्यौं । कसैको घरमा भने घन्टौं भट्याउँदा पनि ढोका नखोल्ने गर्दथे । रिसले चिच्याएर भट्याउने गर्थ्यौं । रिसले सबै चूर हुन्थे । जति गरे पनि घरको मान्छेले ढोका नखोलेपछि हामी श्राप दिएर समेत हिड्ने गर्थ्यौं ।
त्यो जम्मा गरेको पैसाले वनभोज जान्थ्यौं । नाचगान रमाइलो हुन्थ्यो । अहिले सम्झिंदा पूरै नोस्टाल्जिक हुन थाल्छु ।
अहिले ती साथीभाइ कोही स्वदेशमा छन् कोही विदेशमा । बेलाबखतमा हाम्रो भेटघाट हुन्छ । त्यसबेला बाल्यकालको तिहारको कुरा गर्दै हाँस्ने गर्छौं । टीका लगाउन मलाई धेरै मन पर्छ । टीका लगाउनुअघि नै ९ वटा धर्का लगाइदिनु भन्दै अनुरोध गर्थे । दिदिबहिनीले मिलिजुली कहिले ९ वटा धर्का लगाइदिनुहुन्थ्यो । टीकाको सौखिन भएकाले ७ वटा, ९ वटा धर्का लगाइदिनुपर्छ भनेर भन्थें ।
(गायक अधिकारीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4