
७ कात्तिक, काठमाडौं । खोटाङका व्यवसायीहरुले सुन र चाँदीको मूल्य सच्याएर तोकेको छन् । तोकिएको भन्दा झण्डै ८ हजार रुपैयाँ तोलामा सुनको बढी मूल्य लिएको समाचार आइतबार अनलाइनखबरमा प्रकाशित भएपछि सोमबार जिल्ला संघले सच्याएर सुन र चाँदीको मूल्य तोकेका हुन् ।
सोमबार संघले छापावाल सुनको मूल्य तोलामा ९५ हजार, तेजावी सुनको मूल्य ९४ हजार ५ सय र चाँदीको मूल्य १ हजार २१५ रुपैयाँ तोकेको छ । यसअघि आफूहरुबाट सुनको मूल्य तोक्ने कुरामा गल्ती भएको र त्यसलाई सच्याइएको नेपाल सुन चाँदी कला व्यवसायी संघ, खोटाङका अध्यक्ष भीमबहादुर विकले बताए ।
आइतबार संघले जिल्लाभरका लागि सुनको मूल्य छापावाल सुन प्रतितोला एक लाख एक हजार, तेजावी सुनको मूल्य एक लाख ५ सय र चाँदीको मूल्य एक हजार पाँच सय रुपैयाँ थियो ।
बिल नभएको काँचो सुन बजारबाट महँगोमा किन्न परेको भन्दै व्यवसायीहरुले धेरै मूल्य तोकेको अनलाइनखबरसँग स्वीकार गरेका थिए । अब आइन्दा यस्तो नगर्ने र केन्द्रीय महासंघले तोकेको मूल्यमै एक हजार रुपैयाँ भाडा खर्च मात्रै राखेर नयाँ मूल्य तोक्ने अध्यक्ष विकले बताए ।
यस अघि लामो समयदेखि खोटाङमा उपभोक्तालाई धेरै मूल्यमा सुन र चाँदी बिक्री गरिएकाले यसबारे थप अनुसन्धान हुने जल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।
प्रतिक्रिया 4