+
+

‘आलुपार्टी’मा सामाजिक विसंगतिमाथि फरक शैलीमा व्यंग्य

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १५:२४

काठमाडौं । समाजका विकृति, विसंगतिविरुद्ध फरक तरिकाले व्यंग्य गर्ने कार्यक्रम कार्यक्रम आलुपार्टी काठमाडौंमा आयोजना गरिएको छ । आइतबार कागतिहारको अवसर पारेर आलुपार्टीका संस्थापक वरिष्ठ हास्यव्यंग्यकार रामकुमार पाँडे निवास जावलाखेलमा खोर्सानीको धुप लगाई शंख ध्वनि बजाएर जोगीको फेरी लगाई बाट कार्यक्रम सुरु गरिएको थियो ।

देउसी–भैलो शैलीमा ‘लौ खा’ भन्दै हास्यव्यंग्यकारहरुले जुत्ताको तलुवाले हिर्काउँदै सांकेतिक रुपमा तलुवा चटाएका थिए । आलुको सांकेतिक प्रतीकलाई सभापति र सभापत्नी बनाएर लाटोकोसेरोको प्रतीकलाई प्रमुख अतिथि बनाइएको थियो ।

कार्यक्रममा सत्ता र कुर्सीको मोहमा परेका, ७० काटेका बृद्ध नेताहरूलाई सांकेतिक व्यंग्य गर्दै रामकुमार पाँडेलाई कुर्सीबाट झारी चकटीमा सारेर नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्नुपर्ने र बुढा पुस्ताले आराम गर्नुपर्ने सन्देश दिइएको थियो ।

फरक शैलीमा हास्यव्यंग्य प्रस्तुत गर्दै २०३४ सालदेखि हरेक वर्ष कागतिहारको दिन आलुपार्टी कार्यक्रम आयोजना हुँदै आएको छ ।

कार्यक्रममा कलाकारहरु शैलेन्द्र सिंखडा, दीपाश्री निरौला, शिरोमणि दवाडी, डा. बमबहादुर जिताली, विष्णु तिवारी, घनश्याम गौतम, कमल ओली, रितु कँडेल, मनोज आचार्य, अजय अधिकारीले प्रहसन तथा अभिनय प्रस्तुत गरेका थिए भने कार्टुनिस्टहरू अविन, रविन र अशोकमानले कार्टुन चित्र प्रदर्शन गरेका थिए ।

कार्यक्रममा व्यंग्य र प्रस्तुतिका आधारमा प्रस्तोताहरूलाई सांकेतिक रुपमा विभिन्न दर्जाका आलु उपाधिले सम्मान समेत गरिएको थियो । आलुपार्टीको परम्परा सबैभन्दा ठूलो साइजको कलमबाट नाम दर्ता गरेर सुरुवात गरी अन्त्यमा आलुकै परिकार खाएर कार्यक्रम टुङ्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?