
७ कात्तिक, काठमाडौं । पछिल्लो समय अध्ययनका लागि क्यानडा जाने विद्यार्थीको संख्या बढेको छ ।
असोज महिनामा अध्ययनका लागि क्यानडा जान चाहने एक हजार ४५८ जनाले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले जनाएको छ ।
अध्ययनका लागि विदेश जाने धेरैजसो विद्यार्थी अष्ट्रेलिया र जापान जाने गरेकामा असोज महिनामा क्यानडा र बेलायत जान चाहनेको संख्या पनि बढेको पाइएको शाखाका एनओसी शाखा प्रमुख वासुदेव वस्तीले जानकारी दिए ।
‘अध्ययनको लागि जाने गन्तव्य त्यहाँ पाउने अवसरको आधारमा परिवर्तन हुन्छ । धेरै समय अष्ट्रेलिया र जापान बढी विद्यार्थी जाने गरेकोमा यो महिना अलि फरक देखिएको छ ।’
असोज महिनामा एक हजार १९४ जनाले बेलायत, ८५३ जनाले जापान, ४७८ जनाले जापान, ३६३ जनाले डेनमार्क अध्ययन गर्न जान एनओसी लिएको शाखाले जानकारी दिएको छ ।
शाखाले अहिले आवेदन तथा आवेदन भेरिफिकेसन अनलाइनमार्फत गर्दै आएको छ । शाखाले आवेदन परेको २४ घण्टाभित्र भेरिफिकेसन गर्ने र भेरिफिकेसन भएको २४ घन्टाभित्र एनओसी जारी गरिरहेको बताएको छ ।
कागजात पुगेको खण्डमा आवेदन दिएको ४८ घन्टाभित्र आवेदकले एनओसी प्राप्त गरिरहेका छन् । अहिले १०४ देशका लागि विद्यार्थीहरुले एनओसी लिइरहेको शाखाले जनाएको छ ।
प्रतिक्रिया 4