
जर्नल अफ फिजिक्समा हालै प्रकाशित शोधअनुसार ट्रिनिटी कलेज डबलिनका वैज्ञानिकहरुको एक टिमले मानव मस्तिष्कले क्वान्टम कम्प्युटरले जस्तै काम गर्नसक्ने तथ्य पत्ता लगाएका छन् ।
मस्तिष्कको काम तथा सचेत जागरुकताका साथै अल्पकालीन स्मरण कार्यको बीचमा रहेको सम्बन्धबाट क्वान्टम प्रोसेस पनि संज्ञानात्मक वा सचेत मस्तिष्कको कामको एक हिस्सा भएको पुष्टि भएको उक्त शोधको दाबी छ ।
यदि उक्त वैज्ञानिक शोधको निष्कर्ष पुष्टि भए यसले मानव मस्तिष्कले कसरी काम गर्छ भन्ने बुझ्नमा सहयोग गर्नेछ । साथै मस्तिष्कलाई कसरी संरक्षित गर्न सकिन्छ भन्ने कुरा बुझ्न पनि सहयोग गर्नेछ । यसबाट उत्कृष्ट प्रविधिको खोज गरी भविष्यमा अझै शक्तिशाली क्वान्टम कम्प्युटर बनाउन सकिने दाबी शोधकर्ताको छ ।
ट्रिनिटी कलेज इन्स्टिच्युट अफ न्युरोसाइन्सका मुख्य फिजिसिस्ट तथा शोधकर्ता डा. क्रिस्चियन केर्सकेन्सका अनुसार अनुसन्धानका क्रममा उनीहरुले ज्ञान प्रणालीको रुपमा मस्तिष्कको तरल पदार्थ (ब्रेन वाटर) मा हुने प्रोटोन स्पिनको प्रयोग गरेका थिए । ब्रेन वाटर मानव मस्तिष्कमा तरल पदार्थको रुपमा उत्पादन हुन्छ र प्रोटोन स्पिनलाई एमआरआईको सहयोगमा मापन गर्न सकिन्छ ।
उनका अनुसार निर्णय लिने वा केही नयाँ सिक्ने कुरा जब हामीले गर्छौं त्यसबेला कहिलेकाहीं हाम्रो दिमागले सुपर कम्प्युटरले भन्दा उत्कृष्ट प्रदर्शन गर्छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4