
८ कात्तिक, काठमाडौं । बैंकहरुको कर्जा झनै महँगिदै गएको छ । बैंकहरुले प्रकाशित गरेको असोज मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकको आधार ब्याजदर (बेस रेट) बढेको छ । असोज २०७८ को तुलनामा २०७९ असोजमा बैंकहरुको बेसरेट ४ प्रतिशत बिन्दुसम्मले बढेको छ । बेसरटेमा भएको वृद्धिकै अनुपातमा कर्जाको ब्याजदर पनि बढेन गर्छ ।
बैंकहरुले निक्षेपको ब्याजदर बढाएसँगै कोषको लागत बढ्यो भने आधार ब्याजदर (बेस रेट) पनि बढ्न पुग्यो । आधार ब्याजदर वृद्धिसँगै बैंकिङ कर्जाको ब्याजदर पनि बढेको हो । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदरलाई आधार ब्याजदरसँग आवद्ध गर्नुपर्ने व्यवस्था गरेको छ ।
यस्तै कर्जाको ब्याजदर वृद्धि गर्दा त्रैमासिक औसत आधार दरमा भएको वृद्धिसम्म मात्र बढाउन सकिने व्यवस्था राष्ट्र बैंकले बैंकहरुलाई जारी गरेको एकीकृत निर्देशनमा छ । साथै यसरी आधार ब्याजदर बढेको आधारमा एक त्रैमासमा एकपटक मात्र कर्जाको ब्याजदर वृद्धि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासमा गत आर्थिक वर्ष २०७८/७९ केा प्रथम त्रैमासको तुलनामा बैंकहरुको बेसरेट २ देखि ४ प्रतिशत बिन्दुसम्मले बढेको छ । मेगा बैंकको भने बेसरेट १.०३ प्रतिशत बिन्दुले वृद्धि हुँदा स्ट्यान्डर्ड चाटर्ड बैंकको बेसरेट ४.०८ प्रतिशत विन्दुले वृद्धि भएको छ ।
बैंकहरुले आधार ब्याजदर गणना गर्दा कोष लागत प्रतिशत, अनिवार्य मौज्दात लागत प्रतिशत, वैधानिक तरलता लागत प्रतिशत र सञ्चालन लागत प्रतिशत हिसाब गर्ने गर्छन् । चालु आर्थिक वर्षबाट राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात वृद्धि गर्ने निर्णय गरेको छ । जसले बैंकहरुको बेस रेट थप बढ्न पुगेको छ ।
बैंकहरुले कर्जा लगानी गर्दा बेस रेटमा कर्जाको जोखिमको आधारमा प्रिमियम जाड्नुपर्ने हुन्छ । कर्जा जोखिम र राष्ट्र बैंकले उक्त कर्जालाई दिएको जोखिम भारलाई मध्यनजर गर्दै प्रिमियम निर्धारण हुने गर्छ । आवधिक प्रकृतिको कर्जामा एक पटक निर्धारण भएको पि्रमीयम ऋणीको सहमतिबिना घटबढ गर्न पाइदैन । तर, नवीकरण गर्ने कर्जाको भने वाषिर्क रुपमा नवीकरण गर्दा प्रिमियम तलमाथि हुन सक्छ ।
यस आधारमा यसअघि नै लगानी भइसकेको कर्जामा भने प्रथम त्रैमासमा आधार ब्याजदरमा भएको वृद्धिअनुसार कर्जाको ब्याजदर बढ्नेछ । तर, नयाँ कर्जामा भने बैंकहरुले यसअघि नै कात्तिकको लागि कर्जाको ब्याजदरमा लाग्ने प्रिमियम प्रकाशित गरिसकेको छन् । बेस रेटमा बैंकहरुले प्रकाशित गरेको प्रिमियम दर जोडेर कर्जाको ब्याजदर तय हुनेछ ।
बैंकहरुले कात्तिकको लागि बेेस रेटमा अधिकत साढे ८ प्रतिशतसम्म प्रिमियम लिने गरी कर्जाको ब्याजदर प्रकाशित गरेका छन् । सामान्यतयाः बेस रेट कम भएको बैंकको कर्जाको ब्याजदर पनि कम हुने भने बढी भएको बैंकमा कर्जाको ब्याजदर पनि बढी हुने गर्छ ।
बैंकहरुले चालु आर्थिक वर्षमा प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा असोजको बेस रेट पनि प्रकाशित गरेको छन् । प्रथम त्रैमासको औसत बेसरेटको आधारमा कर्जाको ब्याजदर निर्धारण हुन्छ । तर, कतिपय बैंकले असोजको मात्रै बेसरेट प्रकाशित गरेको छन् भने कतिपय बैंकले औसत बेसरेट प्रकाशित गरेका छन् ।
त्रैमासिक औसत बेसरेट ननिकालेका बैंकहरुको औसत गर्दा बेसरेट केही घट्न सक्छ । असारकै ब्याजदर साउन र भदौमा पनि दिएको बैंकहरुले असोजमा जति कम बेसरेट त्यही बैंकमा कर्जाको ब्याजदर पनि कम हुन्छ, राष्ट्र बैंकले कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ४.४ प्रतिशतको अधिकतम सीमा ताकेकोले बैंकहरुले कर्जाको ब्याजदरमा प्रिमियम निर्धारण गर्दा त्यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ ।
सात बैंकको बेसरेट एकल अंकमा
असोजको अपरिस्कृत वित्तीय विवरणअनुसार सबैभन्दा कम बेसरेट पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको बेसरेट ८.८५ प्रतिशत र नेपाल बैंकको बेसरेट ८.९२ प्रतिशत रहेको छ ।
यस्तै स्ट्यान्डर्ड चाटर्ड बैंकको बेसरेट ९.२६ प्रतिशत, एभरेष्ट बैंकको ९.३० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ९.३९ प्रतिशत, नबिल बैंकको ९.४५ प्रतिशत र कृषि विकास बैंकको ९.८३ प्रतिशत बेसरेट रहेको छ । बाँकी रहेको १९ बैंकको बेसरेट दोहोरो अंकमा पुग्दा सबैभन्दा धेरै सिटिजन्स बैंकको ११.१४ प्रतिशत र सिभिल बैंकको बेसरेट ११.०९ प्रतिशत पुगेको छ ।
अन्य १७ वटा बैंकको बेसरेट १० देखि ११ प्रतिशतको बीचमा रहेको छ ।
बैंकहरुको बेसरेट (प्रतिशतमा) | ||
बैंक | असोज २०७८ | असोज २०७९ |
सिटिजन्स बैंक इन्टरनेसनल | ८.११ | ११.१४ |
सिभिल बैंक | ८.२६ | ११.०९ |
कुमारी बैंक | ७.८८ | १०.९९ |
एनसीसी बैंक | ८.१२ | १०.९५ |
सनराइज बैंक | ८.४ | १०.९४ |
प्राइम कमर्सियल बैंक | ८.२७ | १०.९१ |
बैंक अफ काडमाण्डू | ८.५६ | १०.८७ |
मेेगा बैंक नेपाल | ९.८१ | १०.८४ |
सेञ्चुरी बैंक | ८.०९ | १०.७६ |
एनआईसी एशिया बैंक | ७.४८ | १०.६७ |
लक्ष्मी बैंक | ७.५७ | १०.६६ |
प्रभु बैंक | ७.६३ | १०.५१ |
सानिमा बैंक | ७.४५ | १०.५ |
सिद्धार्थ बैंक | ७.५७ | १०.४३ |
हिमालयन बैंक | ७.०१ | १०.४३ |
माछापुच्छ्रे बैंक | ७.३६ | १०.३६ |
नेपाल एसबिआई बैंक | ७.२६ | १०.२२ |
ग्लोबल आईएमई बैंक | ७.४१ | १०.१९ |
एनएमबि बैंक | ७.२७ | १०.१५ |
कृषि विकास बैंक | ७.१२ | ९.८३ |
नबिल बैंक | ६.११ | ९.४५ |
नेपाल इन्भेष्टमेन्ट बैंक | ६.७७ | ९.३९ |
एभरेष्ट बैंक | ७ | ९.३ |
स्ट्यान्डर्ड चाटर्ड बैंक | ५.१८ | ९.२६ |
नेपाल बैंक | ५.९३ | ८.९२ |
राष्ट्रिय वाणिज्य बैंक | ५.६३ | ८.८५ |
स्रोत : बैंकको प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण
प्रतिक्रिया 4