
८ कात्तिक, बुटवल । सिद्धार्थनगर नगरपालिका मेयर इस्तियाक अहमद खानले निर्वाचन आचार संहिता उल्लंघन गरेर गृहमन्त्री बालकृष्ण खाणको पक्षमा भोट माग्दै हिंडेका छन् ।
निर्वाचन आचार संहिता २०७९ को दफा ५ मा स्थानीय सरकारका प्रमुखले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाउने व्यवस्था छ ।
तर मेयर खान सोमबार रूपन्देही क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदमा सत्ता गठबन्धनबाट उम्मेदवार खाणको पक्षमा बैंकरोड, मिलनचोक लगायतका क्षेत्रमा भोट माग्दै घरदैलो र पसल पसलमा सहभागी भएका छन् ।
मेयर खानले गृहमन्त्रीको घरदैलोको क्रममा भेट भएर फोटो खिचेको तर आफूले उनको पक्षमा भोट नमागेको अनलाइनखबरलाई बताए ।
गृहमन्त्री खांणले घरदैलो गर्दा मेयर पनि सहभागी भएको र गौतमबुद्ध विमानस्थलमा ठूलो संख्यामा रोजगारी खुल्ने र त्यहाँ रोजगारी दिलाउने प्रलोभन देखाएर मत मागेको भन्दै आलोचना हुने गरेको छ ।
क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जनप्रतिनिधिले यसरी मत माग्न नमिल्ने बताउँदै यसबारे उजुरी परेमा कारबाही प्रक्रिया अगाडि बढ्ने बताए ।
रुपन्देही–३ मा गृहमन्त्री खांणसंग नेकपा एमालेको समर्थनमा राप्रपाका दीपक बोहराले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया 4