
काठमाडौं । महजोडी अभिनित फिल्म ‘महापुरुष’ले काठमाडौंपछि उपत्यकाबाहिर प्रिमियर गरेको छ । मंगलबार चितवन प्रिमियरमा आगन्तुकको उपस्थिति खचाखच रह्यो ।
घरेलु फिल्मका लागि चितवन प्रिमियर दृलभ दृश्य हो किनभने राजनीतिजस्तै फिल्म पनि काठमाडौं केन्द्रित छ । फिल्मलाई पनि विकेन्द्रित गर्नुपर्छ भन्ने सन्देश दिन प्रिमियर गरिएको कार्यकारी निर्माता तथा अभिनेता रविन्द्रसिंह बानियाँले बताए ।
पूर्वी नेपालको इटहरीमा पनि बुधबार प्रिमियर हुनेछ जहाँ निर्माताले फिल्म बजार खोज्न प्रयत्न गर्नेछन् । चितवन सिनेप्लेक्समा जनप्रतिनिधि, कर्मचारी, व्यवसायी, सामाजिक संघसंस्था र सञ्चारकर्मीले फिल्म हेरेर सकारात्मक समीक्षा दिए ।
चितवनमा कार्यकारी निर्माता बानियाँ र निर्देशक प्रदीप भट्टराई सहभागी थिए । तर इटहरीमा कलाकारद्धय अरुण क्षेत्री र अञ्जना बराइली पनि सहभागी हुनेछन् । काठमाडौं प्रिमियरबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेपछि महापुरुषले मोफसल प्रिमियर आयोजना गरेको हो । यसअघि फिल्मले मोफसलका सात सहरमा प्रचार भ्रमण पनि गरेको थियो ।
‘हामीले मोफसलबाट व्यावसायिक सफलता त लिइरहेका छौं । तर त्यहाँका सञ्चारकर्मी र फिल्मकर्मीलाई सफलतामा समेट्न सकेका छैनौं । हामीले मोफसलमा बजारलाई झनै बलियो बनाउन दुई स्थानमा प्रिमियर गर्न लागेका हौं,’ बानियाँले भने ।
निर्देशक भट्टराई भन्छन्, ‘मेरो फिल्म मोफसलमा पनि प्रिमियर गरौं भन्ने चाहना थियो । त्यो यसपटक पूरा हुँदैछ । फिल्म अगाडि नै सकिएकोले यो सम्भव भएको हो ।’
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय छ ।
फिल्म एकल अभिभावकको एक्लोपनको कथा भन्छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रैजात्रा यसअघि निर्देशन गरिसकेका छन् । षट्कोण आर्ट्सको ब्यानरमा म्याक्स दीपेश खत्रीले फिल्म निर्माण गरेका हुन् ।
प्रतिक्रिया 4