
९ कात्तिक, वीरगञ्ज । ४ मंसिरको प्रतिधिसिभा र प्रदेश सभा निर्वाचनका लागि पर्सामा एमाले र जसपा गठबन्धन संयुक्त रुपमा घरदैलो, गोष्ठी, भेला, बैठक गरिरहेको छ ।
बुधबार पर्साको पोखरिया नगरपालिकामा राखिएको क्षेत्रीय बैठकमा एमाले र जसपाका उम्मेदवार र नेताहरु सहभागी थिए ।
सम्बोधनका क्रममा जसपा नेता प्रदीप यादवले ‘जय मधेस’को अभिभावदन गरे । तर उपस्थित दर्शकहरु चुपचाप बसे । ‘सबै जना सुस्ताइसके जस्तो छन् । अहिले नै सुस्त हुनुभयो भने चुनाव कसरी जिताउनुहुन्छ ?’ नेता यादवले भने ।
दर्शकको तर्फबाट एमाले कार्यकर्ताले जवाफ फर्काए, ‘लाल सलाम’ बोल्नुभएन, ‘लाल सलाम’ भनेपछि मात्रै मान्छन् सबै ।
अर्को चिच्याए । ‘ओ मन्त्रीजी तपाईले ‘लाल सलाम’ नै भन्नुभएन । त्यसैले गडबडाएको हो ।’
नेकपा एमाले लगायत कम्युनिष्ट पार्टीका का नेता कार्यकर्ताले एक अर्कालाई अभिभावदन गर्दा ‘लाल सलाम’ भन्ने गरेका छन् ।
त्यसपछि नेता यादवले ‘अच्छा ‘लाल सलाम’’ भने । तालीको गडगडहाट अघिको भन्दा ठूलो आयो ।
एमाले कार्यकर्ताले लाल सलाम भन्नुपर्छ भनेर सम्झाउन खोजेका थिए । तर नेता यादवले मधेसमा छौं भने सबै यसमा (जय मधेस) मा आउँछ भनेर प्रष्ट्याए । ‘मधेसको भित्र सबै आउँछ होलसेलमा’ उनले भने ।
कार्यकर्ताको तर्फबाट ‘भोटको नारा छ अहिले’ भनेर जवाफ आयो । त्यसपछि नेता यादवले ‘ए ठिक छ धन्यवाद’ भने, अनि बोल्न थाले ।
जसपा नेताहरुलाई धेरैले सोध्ने गरेका छन्, एमालेको सुरुदेखि विरोधी पार्टी जसपा थियो, कसरी गठबन्धन भयो ? तर उपेन्द्र यादवसँग सुझबुझ र दूरगामी सोचका कारण जसपालाई थ्रेस होल्ड कटाउनबाट रोक्ने षड्यन्त्र विफल भएको नेता प्रदीप यादवले दावी गरे ।
‘मधेसको आवाज उठाउने जसपा पार्टीको चुनावपछि नामोनिसान मेटाउन खोजिएको थियो । एमालेसँग गठबन्धन गरेपछि अस्तित्व अगाडि बढेको छ । यो दुवै दलको आवश्यकता र चाहाना थियो’ उनले भने, ‘थ्रेस होल्ड नकटोस्, तीन प्रतिशत भोट नकटोस् भनेर कांग्रेस, माओवादी नेताहरुले षड्यन्त्र गरेका थिए । ११ भन्दा बढी सिट नदिने । त्यो डिजाइनलाई भत्काउन सफल भएका छौं ।’
कांग्रेसबाट पीडितहरु नै एमाले र जसपा बनेको बताउँदै उनले यसपटकको चुनावमा कांग्रेसलाई पछार्ने दावी गरे ।
प्रतिक्रिया 4