११ कात्तिक, पोखरा । रुविना क्षेत्रीले ह्याट्रिकसहित ५ विकेट लिएपछि क्यान–११ ले नेपाल भ्रमणमा रहेको (मेरिलिबन क्रिकेट क्लब) एमसीसीको महिला टिमलाई शुक्रबार १९ रनले पराजित गरेको छ ।
नेपाल भ्रमणमा रहेको एमसीसी र क्यान ११ बीच शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा पहिलो टी-२० खेल भएको थियो । जहाँ कप्तान रुविना चम्कँदा नेपाली टोलीले सहज जित हात पारेको हो ।
१०० रनको लक्ष्य पछ्याएको एमसीसीले १९.५ ओभरमा सबै विकेट गुमाएर ८० रन मात्रै बनाउन सक्यो । भ्रमणकारी एमसीसीका लागि एलिजा हवार्डले अविजित रहँदै सर्वाधिक २० तथा एबी ह्वाइब्रोले १९ रन बनाइन् ।
क्यान ११ का लागि रुविना क्षेत्रीले ह्याट्रिकसहित सर्वाधिक ५ विकेट लिइन् । रुविनाले अन्तिम ओभरमा लगातार चार बलमा चार विकेट लिएकी हुन् ।
१५औं ओभरमा सबा नसिमको विकेट लिएकी रुबिनाले अन्तिम ओभरमा अमान्डा पोट्गेइटर, रिया बाभल, साबा क्रे र इजाबेली गुर्नेलाई बोल्ड गरेकी थिइन् ।
यस्तै कविता कुँवर र नेरी थापाले २–२ तथा सिता राना मगरले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यान ११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको थियो ।
क्यान ११ का लागि नेरी थापाले १८ रन बनाउदा सम्झना खड्का र कविता कुँवरले १७–१७, सुमन खतिवडाले १६ र सीता राना मगरले १० रन बनाइन् ।
एमसीसीका लागि राचेल पोटरले सर्वाधिक ३ तथा रिया राभल र अमान्डा पोट्गेइटरले २–२ विकेट लिए ।

प्रतिक्रिया 4