
११ कात्तिक, वीरगञ्ज । बारामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगञ्ज बस्ने ५० वर्षीया शेख रुकैदाको मृत्यु भएको हो ।
बाख्रा चराइरहेकी खातुनलाई नेपाल आयल निगम अमलेखगञ्ज डिपो नजिकै रहेको पार्किङमा बिहीबार दिउँसो हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट घाइते रुकैदालाई सिमरास्थित अलपाइन अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।
अल्पाइन अस्पतालमा उपचारकै क्रममा साँझ ५ बजेतिर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।
अमलेखगञ्ज क्षेत्रमा जंगली हात्ती बस्ती पस्ने गरेका कारण स्थानीय बसिन्दा त्रसित छन् ।
बस्ती नजिकै निकुञ्जको हात्तीसार भएका कारण जंगली हात्तीले यो क्षेत्र नछोडेको आरोप स्थानीयले लगाएका छन् । यसबारेमा पटक पटक निकुञ्जलाई गुनासो गर्दा समेत निकुञ्ज प्रशासनले बेवास्ता गरेको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया 4