
१२ कात्तिक, काठमाडौं । रुपन्देही–२ बाट उम्मेदवारी खारेजीमा परेका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले आफ्नो उम्मेदवारी जालझेल र षड्यन्त्रपूर्वक खारेज गरेको आरोप लगाएका छन् ।
रुपन्देहीमा शनिबार सत्तारुढ गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो उम्मेदवारी खारेजी नेकपा एमालेको पराजित मानसिकताको पराकाष्ठा भएको टिप्पणी गरे । उनले सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो बनेको आरोपसमेत लगाए ।
‘जालझेलपूर्ण ढंगबाट, षड्यन्त्रपूर्वक ढंगबाट मेरो उम्मेदवारी खारेज गरिएको छ, तथा हाम्रो गठबन्धनको तर्फबाट उम्मेदवारी खारेज गरिएको छ । म फेरि दोहोर्याएर भन्न चाहन्छु, नेकपा एमालेको पराजित मानसिकताको पराकाष्ठा हो’ उनले भने ।
नेता गुरुङले अगाडि भने, ‘आज सर्वोच्च अदालत र निर्वाचन आयोग एउटा पार्टीको पार्टी कार्यालय जस्तो बनेको छ । हिजो बालुवाटार काण्डमा मुछिएका कुमार रेग्मीको इजलासबाट यो निर्णय भएको छ । ब्ल्याक लिस्टमा भएका १५३ उम्मेदवारहरु छन् । जसमध्ये १५२ जना १५२ जना होमिएका छन् ।’
सत्तारुढ गठबन्धनको समर्थन पाएका एकीकृत समाजवादीका उम्मेदवार गुरुङ बैंकिङ कसूरमा दोषी ठहर भई कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गरिदिएका थिए । निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दिए पनि अदालतले गुरुङको पक्षमा आदेश नदिएपछि उनी उम्मेदवार हुन पाएनन् ।
यो क्षेत्रमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् भने गुरुङको उम्मेदवारी खारेज भएपछि सत्तारुढ गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशव थापालाई समर्थन गरेको छ ।
नेता गुरुङले कर्जा सूचना केन्द्रको कालोसूचीमा आफ्नो नाम नै नभएको जिकिर गरे ।
प्रतिक्रिया 4