
१२ कात्तिक, काठमाडौं । चुनाव नजिकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थप सक्रियता बढाएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा लगातार गइरहेका ओली काठमाडौं लगायत अन्य क्षेत्रको गतिविधिमा पनि सामेल हुँदै आएका छन् ।
फेरि पनि प्रधानमन्त्री बन्ने दौडमा रहेका ओलीले भर्चुअल गतिविधिमा पनि सक्रिय भएका छन् । केही दिन अगाडि (४ कात्तिकमा) मात्रै आफ्नो फेसबुक पेजमा फोन नम्बर पठाउनेहरुसँग ओलीले कुरा गरेका थिए । कुरा गरेकामध्ये केहीसँग सम्वाद सार्वजनिक गरे ।
टेलिफोन सम्वादपछि ओली तस्वीर माग्दै फेसबुक पेजमा पोष्ट गर्नतिर लागेका छन् । ‘..थाहै नपाइ कति धेरै साथीहरुसँग यस्ता सेल्फी खिचिएका होलान् ! साथीहरुले मसँग खिचेका तस्वीरहरु फेसबुकको कमेन्ट बक्समा पठाउनु भयो भने म समय मिलाएर हेर्नेछु’, केही तस्वीरसहित ओलीले शनिबार फेसबुकमा लेखेका छन् ।
५ कात्तिक बिहान आफ्नै निवास बालकोटबाट देखिएको सूर्योदयको दृश्य राखेर ओलीले तस्वीर माग्न थालेका हुन् । ओलीले आफ्नो फेसबुकको म्यासेज बक्समा तस्वीर पठाउन आग्रह गर्दै आएका छन् ।
फेसबुक पेज हेर्दा ओलीको रोजाइमा विभिन्न स्थानबाट देखिने सूर्योदयको दृश्य रहेको देखिन्छ । उनले सूर्योदय, केही धार्मिक तथा पर्यटकीय क्षेत्रको तस्वीर आफ्नो पेजमा पोष्ट गरेका छन् । तस्वीर पोष्ट गर्दा स्रोतसमेत खुलाएका छन् ।
प्रतिक्रिया 4