
१३ कात्तिक, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा दर्शक दीर्घामा देखिए लेखक खगेन्द्र संग्रौला । आफ्नै जीवनी सार्वजनिक हुने कार्यक्रमको मञ्चमा थिएनन् उनी ।
‘एक बागी खगेन्द्र संग्रौलाको साधना र संङ्घर्ष’ नाम दिइएको आफ्नो जीवनी विमोचन दर्शक दीर्घाबाट नियाले संग्रौलाले । सत्तामाथि सधैं प्रश्नका वाण तेर्स्याउने संग्रौलाको जीवनी उज्ज्वल प्रसाईले लेखेका हुन् ।
संग्रौलालाई दर्शकदीर्घामा राखेर संग्रौलाको जीवनमाथि टिप्पणी गर्न मञ्चमा उक्लिए नेपाली कांग्रेसका नेता गगन थापा, उषा श्रेष्ठ, डा. महेश मास्के, डा सविन निङ्लेखु र जीवनी लेखक उज्जल प्रसाई ।
संग्रौला र उनका विचारसंग अनेक विमति हुँदाहुँदै पनि संग्रौलाले प्रश्न गर्न सिकाएको भन्दै कांग्रेस नेता थापाले कम्युनिष्ट संग्रौलालाई धन्यवाद भने । संग्रौलालाई ‘म्याजिकल कम्युनिष्ट’को उपमा दिए अध्येता निङ्लेखुले । डा. मास्केले संग्रौलाको जीवनीमा उल्लेख भएका विषयलाई समय र सन्दर्भ सहित प्रष्ट्याए ।
अन्तिममा दर्शकदीर्घाबाट मञ्चमा उक्लिएका संग्रौलाले आफ्नो जीवनलाई सानो मान्छेको ठूलो किताबका रुपमा टिप्पणी गरे ।
४ सय ७६ पृष्ठको संग्रौलाको जीवनी बेला पब्लिकेशनले प्रकाशित गरेको हो । किताबको मूल्य ९ सय ४५ रुपैयाँ राखिएको छ ।
प्रतिक्रिया 4