+
+

काठमाडौंबाट चार्टर्ड उडान बन्द, भैरहवाले पायाे ‘बिजनेस’

भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च उठाउनुपर्ने भन्दै सरकारले त्रिभुवन विमानस्थलमा हवाई जहाजमार्फत हुने चार्टर्ड उडानमा प्रतिबन्ध लगाएको छ । योसँगै त्रिभुवन विमानस्थलको बिजनेस भैरहवाले पाउने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते २०:२०

१३ कात्तिक, काठमाडौं । सरकारले अब त्रिभुवन विमानस्थलमा हवाई जहाजमार्फत हुने चार्टर्ड उडान प्रतिबन्ध गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च उठाउनुपर्ने भन्दै त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडान गर्न नदिने निर्णय गरेको हो । यसले त्रिभुवन विमानस्थलको बिजनेस भैरहवाले पाउने भएको छ ।

सञ्चालन खर्च समेत नउठेपछि प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विन्टर सिजनमा त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडानको अनुमति नदिने निर्णय गरेको सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । त्रिभुवन विमानस्थलको ट्याक्सी–वे विस्तारको काम पनि गर्नुपर्ने भएकाले सकेसम्म भैरहवामा अन्तर्राष्ट्रिय उडानहरु लैजान खोजिएको उनको दावी छ ।

यसअघि प्राधिरकणले विदेशबाट आउने चार्टर्ड उडान भैरहवा पठाउन सुरु गरिसकेको थियो ।

प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई उडान तालिकामा भैरहवाबाट पनि उड्न बाध्यकारी गराउने गरी त्रिभुवन विमानस्थलबाट हुने केही उडान कटौती गरिदिएको छ । प्राधिकरणले आइतबारदेखि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २–२ वटा अन्तर्राष्ट्रिय उडान भैरहवाबाट गर्न बाध्यकारी व्यवस्था गरेको छ ।

दैनिक तीनभन्दा बढी उडान गर्ने वायुसेवा कम्पनीले पुरानो गन्तव्यमा थप उडान गर्न भैरहवाबाटै उड्नुपर्ने नियम बनाइएको छ । विदेशी वायुसेवा कम्पनीलाई भने १५ डिसेम्बरसम्म भैरहवमा उडान भर्ने तालिका बनाउन समय दिइएको छ ।

यस्तो उडान नगरेमा त्रिभुवन विमानस्थलबाट उडान गर्न नदिने निर्णयअनुसार आइतबार नेपाल एयरलाइन्सको दिल्ली उडान रोकिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?