
१३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंंको २ निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनको निर्णय अवज्ञा गरेको छ ।
काठमाडौं–३ मा नेपाली कांग्रेसको उम्मेदवारलाई सत्तारुढ गठबन्धनले समर्थन गर्ने सहमति छ । तर त्यहाँ प्रतिनिधिसभा र दुईवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले आफ्नै उम्मेदवारका लागि मत मागेको छ ।
माओवादी केन्द्रको काठमाडौं–३ को क्षेत्रीय समितिको आइतबार बसेको बैठकले संघमा बद्री बजगाई र प्रदेशसभातर्फ १ मा कपिलमुनि उप्रेती र २ मा महेश्वर फुयाललाई बिजय बनाउन लाग्ने निर्णय गरेको हो ।
तर, सत्ता गठबन्धनको ११ कात्तिकमा बसेको बैठकले संघमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष चालिसे आधिकारिक उम्मेदवार हुने र प्रदेशसभातर्फ २ मा माओवादी र कांग्रेसबीच मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको थियो ।
सुरुमा संघमा कांग्रेस तथा प्रदेशसभातर्फ १ मा कांग्रेस र २ मा माओवादीले पाउने गरी भागबन्डा भएको थियो ।
त्यस्तै काठमाडौं-१० को प्रदेशसभा १ मा पनि आफूले पाएको क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिएको भन्दै माओवादीले संघ र प्रदेशसभाका दुवै क्षेत्रमा उम्मेदवारी दिएको छ ।
गठबन्धनको पछिल्लो बैठकमा काठमाडौं–१० मा संघतर्फ र प्रदेश १ मा कांग्रेस र माओवादीले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको थियो ।
माओवादीको काठमाडौं-१० क्षेत्रीय कमिटीले पनि उक्त निर्णय अमान्य हुने निर्णय गरेको छ । शुक्रबार विज्ञप्ति निकालेर गठबन्धनको निर्णयमा असहमति रहेको भन्दै प्रदेशसभा २ मा पनि माओवादीले उम्मेदवार बनाएको छ । काठमाडौं–१० को प्रदेशसभा २ मा एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय छ ।
माओवादीको काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले गठबन्धनको निर्णय अन्यापूर्ण भएको भन्दै त्यसलाई स्थानीय कमिटीले नमानेको बताए ।
‘गठबन्धनको जुन अन्तिम वक्तव्य आयो, त्यो पनि एकदम अन्यायपूर्ण तरिकाबाट आयो’, शर्माले भने, ‘माओवादीले पाएको ठाउँमा मित्रवत प्रतिपर्धा गर्ने अनि कांग्रेसको ठाउँमा माओवादीले छोड्नुपर्ने भएपछि कार्यकर्ताले कसरी मान्छन् ?’
प्रतिक्रिया 4