
१३ कात्तिक, बुटवल । सत्ता गठबन्धनले नवलपरासीका ७ जना उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय बनाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।
नेपाली कांग्रेसका जिल्ला सभापति अर्जुनकुमार पोखरेल, माओवादी केन्द्रका जिल्ला इन्चार्ज घनश्याम यादव, एकीकृत समाजवादीका यज्ञप्रसाद खनाल र राष्ट्रिय जनमोर्चाका किसनबहादुर अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै सोमबार दिउँसो ५ बजेसम्म उम्मेदवारी निष्क्रिय नबनाए विधानअनुसार स्वतः कारबाही हुने जानकारी गराएका छन् ।
जिल्लाका एक प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्रमा गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाबाहेक सबैले एक अर्काविरुद्ध उम्मेदवारी दिएका छन् । क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी सीता बौडेलले उम्मेदवारी दिएकी छन् ।
यहाँ कांग्रेसका विनोद चौधरी र एमाले समर्थनमा हृदयेश त्रिपाठी उम्मेदवार छन् । क्षेत्र नं १ (१) मा कांग्रेसका कृष्णप्रसाद ढुंगाना, नेकपा एकीकृत समाजवादीका टंक खनाल र माओवादी केन्द्रका चन्द्रकान्त ढकालले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै १ ( २ ) मा नेपाली कांग्रेसका देवकरण प्रसाद कलवारले बागी उम्मेदवारी दिएका छन् । क्षेत्र नं २ (१) मा माओवादी केन्द्रका खडक बस्नेत र एकीकृत समाजवादीका प्रकाश भट्टराईले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उक्त क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो ।
गठबन्धनबाट १(१)मा कांग्रेसका विश्वप्रेम पाठक र १ (२)मा माओवादी केन्द्रका रामानन्द यादव तथा २(१) मा माओवादी केन्द्रको चुनाव चिन्हमा नेपाल समाजवादी पार्टीका चिनक कुर्मी र २(२) मा कांग्रेसका बैजनाथ कलवार आधिकारिक उम्मेदवार छन् । प्रतिनिधि सभा क्षेत्र नंं २ मा भने कांग्रेसका देबेन्द्रराज कँडेल गठबन्धनबाट एकल उम्मेदवार छन् ।
प्रतिक्रिया 4