
१४ कात्तिक, डोटी । कुनै बेला एउटै झण्डा बोकेर राजनीतिक मैदानमा रहेका गौरी ओली र प्रेमबहादुर आलेमगर यसपटक आमने–सामने छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले पार्टी पोलिटव्यूरो सदस्य एवं डोटी इन्चार्ज गौरी ओलीलाई उम्मेदवार बनाएको छ । उनी दोस्रो संविधान सभामा एमालेबाट समानुपातिक सांसद समेत भएकी थिइन् ।
सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य एवं सुदूरपश्चिम प्रदेश सहइन्चार्ज प्रेमबहादुर आलेमगर उम्मेदवार छन् । उनी पूर्वमन्त्री समेत हुन् ।
गौरी ओली र प्रेमबहादुर आलेमगर
ओली र आलेको जन्मथलो एउटै पालिका हो । ओली जोरायल गाउँपालिका–१ का हुन् भने आले सोही गाउँपालिका–२ का । ओली एमाले पोलिटव्यूरो सदस्य छन् भने आले एकीकृत समाजवादीको पोलिटव्यूरो सदस्य । दुई जना एउटै पार्टीबाट संविधान सभा सदस्य रहिसकेका व्यक्ति हुन् ।
ओली पहिलो पटक प्रत्यक्ष चुनाव लड्दैछिन् भने आले ०६४ सालको संविधान सभा निर्वाचनदेखि चौथो पटक लगातार चुनावी मैदानमा छन् ।
ओलीको राजनीतिक यात्रा एमालेबाटै सुरु भएको थियो । आलेको राजनीतिक यात्रा कांग्रेसबाट सुरु भयो । २०५४ सालको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा आले एमाले प्रवेश गरेका हुन् । हाल उनी नेकपा एकीकृत समाजवादीमा छन् ।
एमालेमा हुँदा सुरुवाती दिनहरुमा ओली र आलेको सम्बन्ध राम्रो थियो, तर ०६४ को चुनावसँगै तिक्ततापूर्ण बन्यो । ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा आफूलाई हराउन लागेको भन्दै आलेले ओलीलाई कारबाही गर्नुपर्ने माग पार्टीमा गरेका थिए । ओलीलाई ०७० को संविधानसभामा समानुपातिक कोटामा पर्न नदिन आलेले पार्टीभित्र हस्ताक्षर अभियान समेत सञ्चालन गरेका थिए ।
०७४ सालको निर्वाचनमा भने ओली–आलेको सम्वन्ध एकाएक घनिष्ट भयो । तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार रहेका आलेलाई जिताउन ओलीले सक्रिय भूमिका निर्वाह गरिन् । ५ पुस ०७७ सालमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा दुवै एक ठाउँमा थिए । दुवै प्रधानमन्त्री ओलीको कदमको पक्षमा उभिएका थिए ।
तर दोस्रो प्रतिनिधिसभा विघटन खारेजसँगै प्रधानमन्त्री भएका शेरबहादुर देउवालाई ३ साउन २०७८ मा विश्वासको मत दिएपछि ओली र आले फेरि टाढा भए । २ भदौ २०७८ मा एमाले विभाजन हुँदा आलेले नेकपा एकीकृत समाजवादीमा सनाखत गरे । उनी देउवा नेतृत्वको सरकारमा मन्त्री समेत बने ।
खड्काको स्वतन्त्र उम्मेदवारी : आलेलाई डर, ओलीलाई भर
दुई पूर्व सहकर्मी बीचको प्रतिस्पर्धालाई थप रोचक बनाइ दिएका छन् स्वतन्त्र उम्मेदवार नरेन्द्रबहादुर खड्काले ।
खड्का डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । नेपाली कांग्रेस निकट खड्का पर्यटन प्रवर्द्धनमा सक्रिय थिए । सुदूरपश्चिम प्रदेशको राजधानी दिपायल हुनुपर्ने भन्दै लामो समयसम्म चलेको आन्दोलनको नेतृत्वकर्ता पनि हुन् खड्का ।
खड्काको उम्मेदवारीले ओलीलाई झस्काएको छ । डोटी जिल्लामा चुनावी तालमेल नगरी एक्लै मैदानमा जानुपर्ने मत कांग्रेसमा चर्को थियो । त्यसको नेतृत्व सुदूरपश्चिम प्रदेश सभापति एवं डोटीका टिकट आकांक्षी वीरबहादुर बलायर आफैंले गरेका थिए ।
उनी डोटी छाडेर कैलाली ४ मा झरेका छन् । तर कांग्रेसको असन्तुष्टी कम भएको छैन । खड्काको उम्मेदवारी त्यसकै उपज हो । उनको पक्षमा कांग्रेसका केही कार्यकर्ता खुलेर लागेका पनि छन् । खड्काले कांग्रेसको मत जति पाउँछन्, आफ्नो मत त्यति घट्ने भएकाले आले दबावमा छन् । खड्कालाई उम्मेदवारी फिर्ता गराउन गठबन्धनले प्रयास गरे पनि सफल भएन ।
खड्काको उम्मेद्वारी कायमै रहँदा एमाले उम्मेदवार ओलीलाई केही आशावादी बनाएको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसले पाएको सबै मत खड्काले पाउने हो भने उनी आफैं चुनाव जित्न सक्छन् । तर कांग्रेसको एक चौथाइ मात्रै मत खड्काले पाए ओलीका लागि चुनावी प्रतिस्पर्धा सहज हुन्छ ।
यस्तो छ स्थानीय तहको मत परिणाम
३० वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा एमालेभन्दा कांग्रेस ८ हजार ९०० मतले आगडि छ । कांग्रेसले ३३ हजार ९४४ मत पाउँदा एमालेले २५ हजार ३६ मत पाएको छ ।
एकीकृत समाजवादीको ३ हजार २०५ मत छ भने माओवादी केन्द्रको ७ हजार ६१२ । यो मत परिणामलाई आधार मान्ने हो भने गठबन्धन अगाडि छ, तर स्वतन्त्र उम्मेदवार खड्काले काट्ने कांग्रेसको मतले हार–जित निर्धारण गर्ने देखिन्छ ।
चुनावी मैदानमा ओली, आले र खड्कासँगै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट अंकबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट केशवबहादुर बलायर र स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशी पनि छन् ।
प्रतिक्रिया 4