+
+

मध्यपहाडी र हुलाकी राजमार्गलाई ४ लेनमा विस्तार गर्ने एकीकृत समाजवादीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १५:३५
निर्माणाधीन मध्यपहाडी लोकमार्ग/फाइल तस्वीर

१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मध्यपहाडी पुष्पलाल लोकमार्ग र हुलाकी राजमार्ग चार लेनमा स्तरोन्नति गर्ने महत्वकांक्षी घोषणा गरेको छ । अहिलेसम्म २ लेनमा समेत निर्माण कार्य पुरा हुन नसकेको यी दुई राजमार्गलाई पाँच वर्षभित्र थप २ लेन विस्तार गर्ने योजना चुनावी घोषणापत्रमार्फत सार्वजनिक गरिएको छ ।

समाजवादीले राष्ट्रव्यापी सडक सञ्जाल निर्माण गर्दा आवश्यकताअनुसार उच्च पुल र सुरुङ प्रविधिको व्यापक प्रयोग गर्नेदेखि काठमाडौं–तराई द्रूतमार्ग तीन वर्षभित्र निर्माण गर्ने र पूर्व–पश्चिम राजमार्गलाई पाँच वर्षभित्र छ लेनमा स्तरोन्नति गर्ने पनि उल्लेख छ ।

‘मदन भण्डारी राजमार्ग निर्माण आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने र कर्णाली, गण्डकी, कोशी कोरिडोर लगायत उत्तर–दक्षिण राजमार्ग र तराईका सबै जिल्लामा पूर्व–पश्चिम राजमार्गदेखि नेपाल–भारत सिमानासम्म राजमार्ग निर्माण गर्न पहल गर्ने’ घोषणापत्रमा भनिएको छ ।

सहज तथा सुरक्षित सडक यातायातका लागि जथाभावी सडक निर्माण गर्ने कार्यका रोक लगाउने र सडक निर्माण गर्नु पूर्व सडकका नाममा जग्गाको नक्सा पास गराएरमात्र निर्माण सुरु गर्ने आदि कार्यमा जोड दिने पनि घोषणापत्रमा उल्लेख छ ।

नेपालका राष्ट्रिय तथा क्षेत्रीय राजमार्गहरूलाई एशियाली स्तरमा स्तरोन्नती गर्ने, जिल्ला र पालिका स्तरका सडकहरूको स्तरोन्नति गर्ने र ग्रामीण क्षेत्रमा निर्माण गरिएका सडकहरूलाई कृषि सडकमा रूपान्तरण गर्ने विषय पनि समेटिएका छन् ।

यातायात सिन्डिकेटलाई खारेज गरी यस क्षेत्रमा रहेका तमाम विकृति र विसङ्गति अन्त्य गर्न र सार्वजनिक यातायातलाई सस्तो, सर्वसुलभ र प्रतिस्पर्धी बनाउन जोड दिने पनि एकीकृत समाजवादीको प्रतिवद्धता छ ।

‘सरकारी स्वामित्वमा रहेका तर, बिग्रेर सवारी साधनलाई मर्मत गरेर सञ्चालन गर्न सकिनेलाई सञ्चालन गर्ने तथा सकेसम्म विद्युतीय सवारीमा परिवर्तन गर्न आवश्यक बजेटको व्यवस्था गर्ने, मर्मत गर्न नसकिने सवारी साधनलाई लिलाम गर्न वर्तमान कानुन तथा नियमलाई सरलिकरण गर्ने’ घोषणापत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?