
काठमाडौं । नेकपा माओवादी केन्द्रले समाजवादी मूल्य स्थापित गर्ने फिल्म निर्माणका लागि अनुदान र प्रोत्साहन गर्ने कार्यक्रम लागू गर्ने घोषणा गरेको छ ।
सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा प्रतिलिपि अधिकारको सुनिश्चितता हुने गरी बौद्धिक अधिकार स्थापित गर्ने र कानुनअनुसार स्रष्टालाई रोयल्टी दिने नीति लिइने उल्लेख छ ।
प्रत्येक स्थानीय तहमा स्थानीय मौलिक संस्कृति, भाषा, भेषभूषा तथा सांस्कृतिक धरोहरहरूको सम्बर्द्धन गर्ने र यसका लागि स्थानीय तहसँगको सहकार्यमा सांस्कृतिक महोत्सव, कवि गोष्ठी, चलचित्र प्रदर्शनी, विविध साहित्यिक एवं सांस्कृतिक प्रतियोगिता आयोजना गरिने जनाइएको छ ।
नेपाली लोकगीत, संगीत र विभिन्न भाषाभाषी र समुदायको ऐतिहासिक, सांस्कृतिक र जातीय पहिचान झल्किने गीत-संगीत र साहित्यलाई प्रोत्साहित गरिने पनि माओवादी केन्द्रको प्रतिबद्धता छ ।
‘नेपाली मौलिक संस्कृति र सभ्यता झल्किने गरी निर्माण गरिएका एवं समाजवादी मूल्य स्थापित गर्ने चलचित्र निर्माणका लागि राज्यका तर्फबाट अनुदान र प्रोत्साहनका कार्यक्रमहरू तय गरी लागू गरिने छ,’ माओवादीको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
सबै संस्कृति र धर्म सम्प्रदायको बीचमा समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त र व्यवहार प्रवर्द्धन गर्न भाषा, लिपि, कला, साहित्य, संस्कृति, संगीतजस्ता प्रतिष्ठानहरू एउटै केन्द्रीय नीति अन्तर्गत ल्याइने पनि माओवादीले घोषणापत्रमा उल्लेख गरेको छ ।
प्रतिक्रिया 4