
१४ कात्तिक, बुटवल । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले घनश्याम भूसालमा राजनीतिक चरित्र नभएको बताएका छन् ।
रुपन्देही-१ को प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका विश्वकर्माले एक पटक टिकट नपाउँदैमा पार्टी छाडेर रातारात विपक्षीको उम्मेदवार घनश्यामले पार्टीलाई पटक-पटक धोका दिएको आरोपसमेत लगाए ।
एमाले, राप्रपा र जसपाले आइतबार देवदहमा गरेको चुनावी सभामा बोल्दै विश्वकर्माले अरुलाई चुनावदेखि चुनावसम्मको राजनीति गरेको आरोप लगाउने भूसालले एउटा चुनावमा टिकट नपाउने वित्तिकै विपक्षीसँग मिलेमतोमा जानुले उनको असली मुखुण्डो उदाङ्गो भएको टिप्पणी गरे ।
रुपन्देही-१ मा भूसाल सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका छन् । आफूलाई दलाल पूँजीवादको विरोधी भन्ने भूसालले दलाल पूँजीवादको अगुवा नेपाली कांग्रेस र माओवादीसंग सांठगांठ गरेर आफनै पार्टीको सरकार ढालेर प्रतिपक्षलाई सत्ता सुम्पेको र पार्टी विभाजनमा भूमिका खेलेको भन्दै विश्वकर्माले भूसालको आलेचना गरे ।
‘एमालेमा ओलीकै एकदम आफ्ना भनिने दर्जन बढी नेताले टिकट पाएका छैनन्, राप्रपासँग तालमेल हुँदा उहाँले पनि पाउनुभएन’ विश्वकर्माले भने, ‘टिकट नपाउने वित्तिकै विपक्षीको उम्मेदवार बन्न जानु कुनैपनि अर्थमा राजनीतिक चरित्र हैन,पार्टीमाथि धोखा हो ।’
भूसालले विगतमा पनि पार्टी विभाजन गरेको र सिद्धान्तको आवरणमा सधैं नेतृत्वलाई कमजोर बनाई विपक्षीलाई खुशी बनाउने काममा रमाएको विश्वकर्माले आरोप लगाए ।
राष्ट्रिय राजनीतिमा स्वतन्त्र उम्मेदवारको कुनै भूमिका नहुने विश्वकर्माले बताए । सत्ता सत्तागठबन्धनका कारण देशको राष्ट्रियता कमजोर बनेको भन्दै उनले राष्ट्रियता जोगाउन राप्रपा र जसपासंग तालमेल गर्नुपरेको बताए ।
प्रतिक्रिया 4