
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले आगामी दुई वर्षभित्र विद्यार्थी भर्नादर शतप्रतिशत पुर्याउने घोषणा गरेको छ । मंगलबार सार्वजनिक घोषणापत्रमा आगामी दुई वर्षभित्र विद्यार्थी भर्ना दर शत प्रतिशत पुर्याउने उल्लेख गरिएको हो ।
एमालेले शिक्षण पेशालाई मर्यादित र सम्मानजनक जीवन जिउन पुग्ने तलब दिने पनि प्रतिवद्धता जनाएको छ । ‘शिक्षण पेशालाई मर्यादित बनाइनेछ, अतिरिक्त आम्दानी गर्न भौतारिनुपर्ने अवस्था अन्त्य गरी शिक्षकलाई सम्मानजनक जीवन जिउन पुग्ने तलब सुविधा उपलब्ध गराइनेछ’ एमालेको घोषणापत्रमा भनिएको छ ।
एमालेले आर्थिक दुरवस्थाका कारण विद्यालय जानबाट वञ्चित हुने वा बीचैमा पढाइ छोड्नुपर्ने अवस्थाको अन्त्य गर्ने समेत उल्लेख छ । एमालेले सबै विद्यालयलाई सूचना प्रविधिका पूर्वाधारसँग आवद्ध गरी डिजिटल शिक्षण आरम्भ गर्ने घोषणा गरेको छ ।
‘शैक्षिक संरचनालाई रुपान्तरण गरी वैज्ञानिक, प्राविधिक र व्यवसायिक शिक्षाको हिस्सा ७० प्रतिशत बनाइनेछ’ घोषणापत्रमा भनिएको छ, ‘रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने जनशक्ति उत्पादन गरिनेछ ।’
एमालेले पाँच वर्षमा विद्यालयको भौतिक पूर्वाधार व्यवस्थित गर्ने भनेको छ । विद्यालयमा पर्याप्त कक्षा कोठा, सुविधायुक्त फर्निचर, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना प्रविधि प्रयोगशाला, स्वच्छ पिउनेपानी, शौचालय र सम्भव भएसम्म खेल मैदानको व्यवस्था गर्ने उसको प्रतिवद्धता छ । यस्तो पूर्वाधार शैक्षिक गुठी अन्तर्गत वा निजीस्तरमा सञ्चालित विद्यालयमा समेत व्यवस्था गर्न जोड दिने एमालेको घोषणा छ ।
अपाङ्गता भएका विद्यार्थीहरुलाई विशेष सुविधा र शिक्षाको व्यवस्था गरिने, विद्यालयका संरचनाहरु अपाङ्गमैत्री बनाउने पनि एमालेले प्रतिवद्धता जनाएको छ । दुर्गम क्षेत्रका, विपन्न र विद्यालय टाढा भएका विद्यार्थीहरुका लागि आवासीय शिक्षाको व्यवस्था गर्ने एमालेले घोषणापत्रमा उल्लेख छ ।
प्रतिक्रिया 4