+
+

राम शाह घाट संरक्षणमा जुटे स्थानीय

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १७:११

१५ कात्तिक, गोरखा । गोरखा नगरपालिका–१३ का वासिन्दा दरौदी र मर्स्याङदी नदी दोभानमा रहेको रामशाह घाट संरक्षणमा जुटेका छन् ।

दरौदी मस्र्याङदी दोभान वातावरण संरक्षण समिति निर्माण गरी घाट संरक्षणको विभिन्न काम गरिएको हो । ‘घाटसम्म जाने बाटो राम्रो थिएन,’ समिति अध्यक्ष प्रकाश अधिकारीले भने, ‘हामीले ढलान गरेर सिढी लगायौं अनि रेलिङ हाल्यौं ।’

नदीले कटान गरेको र गर्न सक्ने जोखिम क्षेत्रमा टेवा पर्खाल समेत लगाइएको उनले जानकारी दिए । उनका अनुसार हाल ७८ मिटर लामो टेवा पर्खाल लगाइएको छ । घाट क्षेत्रमा शौचालय, बत्ती र खानेपानीको व्यवस्था पनि गरिएको छ ।

शव दहनका लागि सुपथ मूल्यमा घाटमै दाउरा पाइन्छ । समिति सदस्य लोकबहादुर लाय मगरले सुपथ मूल्यमा दाउरा उपलब्ध गराउँदै आएका छन् । ‘मेरो फर्निचर उद्योग पनि छ, यहाँ शव जलाउनका लागि प्रति किलो १४ रुपैयाँमा दाउरा दिन्छु, त्यसमध्ये प्रति किलो दुई रुपैयाका दरले समितिलाई बुझाउछु’, उनले भने । असहाय र विपन्नको शव दहनका लागि लागि भने दाउरा निशुल्क उपलब्ध गराउदै आएको उनले जानकारी दिए ।

समितिका अनुसार घाट क्षेत्र संरक्षणका कामहरु अधुरै छन् । ‘एकै पटक चार÷पाँच वटा लास जलाउन मिल्ने आधुनिक शव दोहन स्थल बनाउनु आवश्यक छ,’ समिति अध्यक्ष अधिकारीले भने, ‘बर्षाको समयमा मलामी ओत लाग्ने ट्रष्ट छैन ।’

किरियापुत्री भवन र रामशाहको समाधिस्थल समेत निर्माण गर्ने योजना रहेको बताउँदै उनले थपे, ‘राजा राम शाह मर्नु भन्दा एक हप्ता अगाडी यहाँ आएर बसेको र यही प्राण त्याग गरेको भन्ने छ, त्यसैले देवघाटपछिको पुण्यघाटको रुपमा यो रामशाह घाटलाई मानिन्छ ।’

गोरखा नगरपालिकाका अधिकांश वडाबाट शव दोहनका लागि यस घाटमा ल्याउने गरिन्छ । घाटको संरक्षण गर्न सके मलामीलाई पनि सहज हुने समितिको भनाइ छ । योजना अनुसार काम गर्नका लागि करिव आठ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

६० लाख खर्चेर सो क्षेत्र आसपास ओमकारेश्वर शिव मन्दिरसमेत निर्माण भएको छ । पर्यटन मन्त्रालयको नाममा रहेको करिव पाँच रोपनी जग्गामा मन्दिर र एक सय आठ वटा शिवलिङ्ग निर्माण गरिएको समिति अध्यक्ष अधिकारीले बताए ।

‘मेन गेट राखेर कम्पाउण्ड पनि गरेका छौं, यो सबै खर्च २०७४ साल कात्तिक ६ देखि १३ गतेसम्म सप्ताह लगाएर संकलन भएको रकमबाट गरेका हौं,’ उनले भने । बर्षेनी नगरपालिकाबाट केही रकम समेत विनियोजन हुदै आएको उनले जानकारी दिए ।

मन्दिर क्षेत्र आसपास रहेको एक सय ७३ बर्ष पुरानो लक्ष्मी नारायण मन्दिरको पनि पुनर्निर्माण भएको छ । पुरातत्व बिभागले पहिलेकै स्वरुपमा मन्दिर पुनर्निर्माण गरेको हो । ऐतिहासिक र धार्मिक महत्व बोकेको सो क्षेत्रमा यही कात्तिक १७ गते बेलुकी एकादशी जात्रा लाग्नेछ ।

वडा नम्वर १३ कि अध्यक्ष मित्रा परियारले राम शाह घाटलाई वडाको तर्फबाट २५ हजार रुपैयाँ रकम विनियोजन गर्ने प्रतिवद्धता जनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?