
१५ कात्तिक, गोरखा । चिकित्सकमाथि हातपात गर्नेलाई कानुन बमोजिम कडा कारबाही माग गर्दै मंगलबार गोरखा अस्पतालका चिकित्सकहरुले कालो पट्टी बाँधेर काम गरेका छन् । चिकित्सकमाथि कुटपिट गर्नेहरु पक्राउ परे पनि फितलो कारबाही गरेर उन्मुक्ति दिन खोजेको भन्दै चिकित्सकहरुले विरोध जनाएका हुन् ।
‘आज कालोपट्टी बाँधेर विरोध जनायौ, अव कारवाहीको प्रक्रिया हेरेर बाँकी निर्णय गर्छौ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ड हरिकुमार श्रेष्ठले भने ।
नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष अनिलबिक्रम कार्की नेतृत्वको टोली र अस्पतालका चिकित्सकबीच भएको बैठकले घटनालाई सामान्यीकरण गर्न खोजिएको निष्कर्ष निकालेको थियो । अदालतमा दर्ता गर्नुपर्ने मुद्धा जिल्ला प्रशासन कार्यालयमा गरेको भन्दै चिकित्सकहरुले असन्तुष्टी जनाएका छन् ।
‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ को दफा ३ को नम्बर ‘ग’ मा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोटपटक पुर्याए तीन बर्षसम्म कैद वा तीनलाखसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ’, कार्कीले भने, ‘तर प्रहरीले दफा ३ का नम्बर (च) अनुसार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्यो, जसमा कसुर गर्नेलाई एक बर्षसम्म कैद वा एकलाख जरिवाना वा दुवै सजाय हुन सक्ने ब्यवस्था छ ।’
कात्तिक ६ गते ड्यूटीमा रहेका अस्पतालका मेडिलक अधिकृत अविनाश पराजुलीलाई केही युवाहरुले कार्यकक्षमै ढोका थुनेर कुटपिट गरेका थिए । कुटपिटको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ का २८ बर्षका समीर कुँवर, १९ बर्षका अनुप बस्नेत र वडा नम्वर ३ का २६ बर्षका प्रमोदजंग कुँवर रहेका छन् । पक्राउ परेकाविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्धा दर्ता गरेको छ । तर चिकित्सकहरुले भने कारवाही फितलो पारिएको भन्दै कडा भन्दा कडा कारवाहीको माग गर्दै आएका छन् ।
प्रतिक्रिया 4