
१५ कात्तिक, धनगढी । बाजुरामा स्वास्थ्य बीमा बोर्डकी प्रमुख तारा रोकाया र युनिसेफ नेपालमा कार्यरत हिमाल धामी निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारमा हिँडेको पाइएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे बुढीनन्दा नगरपालिका–९ को पाण्डुसैन गएका बेला स्वास्थ्य बीमा बोर्ड प्रमुख रोकाया पनि उनीसँगै देखिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
बडिमालिका नगरपालिकामा कार्यरत युनिसेफ नेपालका धामी पनि पाण्डेसँगै सोही पालिकाको वडा नं ७ मा पर्ने भम्केनीमा प्रचारमा हिँडेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।
बीमा बोर्ड प्रमुख रोकायाले आफू चुनाव प्रचारमा नहिँडेको बताएकी छन् । ‘त्यो उहाँहरु मत माग्न हाम्रो घरमा आएको बेलाको तस्वीर हो,’ रोकायाले अनलाइनखबरसँग भनिन्, ‘मैले कुनै पनि उम्मेदवारको पक्षमा मत मागेको छैन ।’ धामीले पनि नेताहरु प्रचार प्रसारका लागि घरमै आएका बेलाको तस्वीर खिचेको बतएका छन् ।
जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले कुनै पनि सरकारी र गैर सरकारी संस्थामा कार्यरत कर्मचारी चुनाव प्रचारमा हिँड्न नपाउने बताए । उजुरी परेमा छानबिन गरेर कारवाही गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4