
१६ कात्तिक, बागलुङ । बागलुङ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा निर्वाचन रोचक देखिएको छ । कारण २०७४ सालको निर्वाचनका सहयात्री राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका सूर्यप्रसाद पाठक नै मैदानमा छन् ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनलाई सघाएर जनमोर्चाले दुई जना प्रदेश सदस्य लिएको थियो । जस अनुसार त्यतिबेला केसी पाठकलाई जिताउने अभियानमा थिए । तर यसपटक सत्ता गठबन्धनबाट जनमोर्चाका केसी निर्वाचन क्षेत्र नम्बर १ मा उनै पाठकविरुद्ध उठेका छन् । केसीको जन्मथलो भने बाग्लुङ क्षेत्र नम्बर २ मा पर्छ ।
उनले २०६४ सालमा बागलुङ २ बाटै संविधान सभा चुनाव जितेका थिए । प्रत्यक्ष निर्वाचित केसी २०७० सालमा समानुपातिकबाट सिंहदरबार छिरेका थिए ।
२०७४ को चुनावमा पनि उनले समानुपातिकबाटै संसदमा छिर्ने योजना बनाएर समानुपातिक उम्मेदवार बनेका थिए । तर जनमोर्चाले समानुपातिकमा कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड नकटाएकाले कुनै सिट पाएन र उनको संसद छिर्ने योजना पूरा भएन ।
८० वर्षीय केसीका मुख्य प्रतिस्पर्धीका रुपमा ४६ वर्षका पाठक छन् । गएको चुनाव जितेका पाठक युवा पुस्तामा प्रिय नेताका रुपमा परिचित छन् ।
बाग्लुङ क्षेत्र नम्बर १ मा चार वटा स्थानीय तहका ३७ वडा छन् । जसमध्ये गएको स्थानीय तहको चुनावमा गठबन्धनले २९ वडा जितेको थियो भने आठ वडामा मात्रै एमालेका उम्मेदवार विजयी भएका थिए ।
गठबन्धनले ३१ हजार ६ सय ३७ मत पाएको थियो भने नेकपा एमाले २२ हजार ३७६ मत पाएको थियो । यो मत परिणाम हेर्दा गठबन्धन नौ हजार २ सय ६१ मतले अगाडि देखिन्छ ।
प्रतिक्रिया 4