
काठमाडौं । तनहुँ जिल्ला अदालतमा आज (बुधबार) हुने भनिएको अभिनेता पल शाहको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
उनका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार न्यायाधीशहरु निर्वाचनमा खटिनुपर्ने भएकाले सरकारी वकिलको कार्यालयले तोकिएको पेशीलाई सूचीबाट हटाइदिएको हो । अबको सुनुवाइ निर्वाचनलाई लक्षित गर्दै मंसिर १० गतेपछि मात्र तय हुनसक्ने अधिवक्ता वाग्लेले बताए ।
यसैबीच, नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन दिने तयारी भइरहेको र त्यसको ड्राफ्ट पलले अध्ययन गरिरहेको उनले बताए ।
‘अहिले पलजीले नै पुनरावेदनको ड्राफ्ट अध्ययन गरिरहनुभएको छ । उहाँबाट जवाफ आएपछि केही दिनमै उच्च अदालत पोखरामा पुनरावेदन दिनेछौं,’ उनले भने ।
नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोग गरेको मुद्दामा दोषी ठहर गर्दै दुई वर्ष छ महिना कैद सुनाएको थियो । साथै, पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने र २५ हजार रुपैयाँ जरिवाना अदालतले तोकेको छ ।
प्रतिक्रिया 4