१६ कात्तिक, काठमाडौं । लगातार तेस्रो हारपछि वागमती प्रदेश टिम प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटको समूह चरणबाटै बाहिरिने निश्चित भएको छ ।
मूलपानी मैदानमा बुधबार वागमतीले लुम्बिनी प्रदेशसँग ८ विकेटले पराजित भएको हो । समूह बी मा रहेको वागमतीले यसअघि नेपाल पुलिस र प्रदेश १ सँग पराजय ब्यहोरिसकेको छ ।
वागमतीले समूहको अन्तिम खेल मधेश प्रदेशसँग खेल्न बाँकी छ । सो खेल जितेको अवस्था र अन्य खेलहरुको समीकरणका आधारमा वागमती सेमिफाइनलमा पुग्न नसक्ने निश्चित भएको हो ।
राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको वागमती टिमले जारी प्रतियोगितामा लगातार खराव प्रदर्शन गरिरहेको छ । कप्तान मल्लले नयाँ र कम अनुभवी खेलाडीको बाहुल्य हुँदा राम्रो प्रदर्शन गर्न नसकेको स्वीकार गरेका छन् ।
बुधबार वागमतीले दिएको १५५ रनको लक्ष्य ३५.४ ओभरमै पूरा गर्न लुम्बिनीका ओपनर कप्तान देव खनालले ७७ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ११९ बलमा ८ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर आकाश त्रिपाठी ३ रनमै आउट भएपछि आएका प्रज्वल थापासँग मिलेर देवले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गरे ।
प्रज्वल २९ रनमा आउट भएपछि आएका सन्दीप रजालीसँग देवले तेस्रो विकेटका लागि ६९ रनको साझेदारी गरी टिमलाई प्रभावशाली जित दिलाए । सन्दीप २९ रनमा अविजित रहे । बलिङतर्फ बागमतीका रिजन ढकाल र प्रतिस जिसीले १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको वागमतीले कप्तान ज्ञानेन्द्रको सर्वाधिक ३३ रन सहयोगमा १५४ रनको योगफल खडा गरेको थियो । वागमती टिम ३८.१ ओभरमा अलआउट भएको हो । ज्ञानेन्द्रका अलावा दुर्गेश थापाले ३२, आशुतोष घरैयाले २२, प्रतिश जिसीले १५, सूर्य तामाङले १७ र रामनरेश गिरीले १० रन जोडे ।
बलिङतर्फ लुम्बिनीका अनिल खरेलले ४ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै ३० रन खर्चिए । विशालविक्रम केसी र अभिषेक गौतमले २–२ विकेट लिए ।
प्रतिक्रिया 4