
१६ कात्तिक, दाङ । बैंकहरुले गरेको ब्याज वृद्धिको विरुद्धमा कडा कदम चाल्ने दाङ जिल्ला उद्योग वाणिज्य (उवा) संघ आन्दोनलमा उत्रने भएको छ । घोराहीमा पत्रकार सम्मेलन गर्दै संघले बैंकहरुले गरेको व्याजदर बृद्धिका विरुद्धमा चरणवद्ध आन्दोलन गर्ने जनाएको हो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले नेपालको निजी क्षेत्रलाई धरासायी बनाउने गरी बैंकहरुले गरेको व्याजदर बृद्धि गरेको बताए । ‘नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी मार्गनिर्देशन ०७९ आडमा बैंकहरुले बृद्धि गरेको व्याजदरप्रति हाम्रो कडा आपत्ति छ’ उनले भने, ‘व्याजदर वृद्धि फिर्ता नभए बैंकहरुलाई नै पैसा नबुझाउने सम्मको आन्दोलन गर्छौ ।’
अध्यक्ष बुढाथोकीले व्याजदर बृद्धिले निजी क्षेत्र तहसनहस हुने अवस्था आएको बताए । ‘कतिपय व्यवसायीहरु बैंकबाट लिएको क्रृण तिर्न सक्ने अवस्थामा छैनन्’ उनले भने ।
उवासंघका निर्वतमान अध्यक्ष नारायणप्रसाद भुसालले बैंकहरुले गरेको व्याजदर बृद्धिका विरुद्धमा उद्योग वाणिज्य महासंघलेसमेत चासो नदिएको भन्दै जिल्लाबाट उद्योग सरकारसहित वाणिज्य महासंघ, बैंकको विरुद्धमा आन्दोलनमा उत्रन लागेको बताए ।
यता, उवासंघले व्याजदर वृद्धिको विरुद्ध गर्ने आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । उवासंघले ब्याजदर वृद्धि फिर्ता गर्नुपर्ने भन्दै कर्जामा एक अंकको व्याजदर कायम हुनुपर्ने, बैंकहले विभिन्न शीर्षकमार्फत लिने सेवा शुल्क लगाएतका कुनै शुल्क लिन नपाउने, पुरानो चालु कर्जा निर्देशिकालाई यथावत राखी नयाँ निर्देशिका क्रमिक रुपले लागु पर्ने, कर्जाकाको व्याजदर पुनः संरचना गर्न दिनुपर्ने र बैंकहरले अगाडी बढाएका लिलामी प्रक्रियाहरु तत्काल स्थगित गर्नुपर्ने माग राखेका छन् ।
उवांघले कार्तिक १७ गतेदेखि कार्तिक २४ गतेसम्म आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । जस अनुसार कार्तिक १७ गते बस्तुगत समितिहरुसँग छलफल, १८ गते व्यवसायीहरुसँग छलफल, २० गते नेपालभरका जिल्ला उवा संघ, प्रदेश उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल राष्ट्र बैंकसँग अर्थ मन्त्रालयलाई पत्राचार गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै कार्तिक २१ गते विरोध र्याली र कोणसभा गर्ने, २३ गते बैंकहरुमा प्लेकार्डसहित धर्ना बस्ने लगायतका आन्दोलनहरु गर्ने दाङ उवासंघले जनाएको छ ।
प्रतिक्रिया 4