+
+

भोट माग्न आउनेलाई किसानले सोधे : अब मल पाइन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १९:४१
देवेन्द्रराज कँडेलसँग आफ्ना समस्या राख्दै ऐंचावलका मतदाता ।

१६ कात्तिक, परासी । ‘अब मल पाइन्छ कि पाइँदैन ?’

भोट माग्न घरमै आएका नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई रामग्राम नगरपालिका–१४ को ऐंचावलका मतदाताले सोधे ।

नवलपरासी–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कँडेलले आश्वासन दिए, ‘पहिलाभन्दा मलका लागि अहिले सहज बन्दै गएको छ । फास्ट ट्रयाकबाट मल ल्याउन टेण्डर भइसकेको छ । अब धेरै समस्या झेल्नुपर्दैन ।’

कँडेलसँग मात्र होइन, एमालेका दीपेन्द्र अधिकारी र राप्रपाका धु्रवबहादुर प्रधानसँग पनि मतदाताले खेतको धान देखाएर उत्पादन घटेको भन्दै मलकै बारेमा प्रश्न गरेका छन् ।

यो क्षेत्रमा १० राजनीतिक दलका र ८ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । भोट माग्न पुगेका हरेक उम्मेदवारहरुसँग मतदाताले पहिला आफूहरुलाई मल र जग्गाको लालपूर्जा दिने प्रतिबद्धता जनाउनुपर्ने शर्त राखेका छन् ।

यो निर्वाचन क्षेत्रलाई पहाड र तराईको भूभागले जोडेको छ । सुनवल र रामग्राम नगरपालिका तथा पाल्हीनन्दन र सरावल गाउँपालिकाको ३ वटा वडा पर्ने यस क्षेत्रको तराई क्षेत्रका करिब ८० प्रतिशत किसान कृषिमा आश्रित छन् ।

राजमार्गदेखि दक्षिणतर्फका किसानलाई मलको समस्या छ भने राजमार्ग आसपासका बासिन्दाको लालपूर्जाको ।

नवलपरासीमा ४० हजार भन्दा बढी अव्यवस्थित र सुकुम्बासी भूमिहीन छन् । जसमा सुनवल नगरपालिकामा सबैभन्दा बढी यो समस्या छ ।

कँडेलले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारले गठन गरेको आयोगले हाल निर्वाचन आचार संहिता लागेकाले काम गर्न नपाएको बताए । उनले चुनावपछि समस्या समाधान हुने आश्वासन दिए ।

एमाले जिल्ला अध्यक्षसमेत रहेका उम्मेदवार अधिकारी र राप्रपाका केन्द्रीय उपाध्यक्ष एंव पूर्वआइजीपीसमेत रहेका प्रधानले पनि किसानहरुको मल र सुकुम्बासीहरुको पुर्जाका लागि आफूहरुले यसअघि पहल गरेको भन्दै चुनावपछि पनि प्रमुखताका साथ समाधान गर्ने प्रतिबद्धता जनाइरहेका छन् ।

मतदाताले सडक, विद्युतलगायतका काम प्रदेश र स्थानीय सरकारबाट हुन थालेको भन्दै रोजगारी सिर्जना, प्राविधिक शिक्षा, सुविधा सम्पन्न अस्पताल निर्माणलगायतका समस्या सम्बोधन गर्न उम्मेदवारलाई आग्रह गरेका छन् ।
उम्मेदवारहरुले भने पूर्वाधार, सडक निर्माण र विद्युत आदि विषयलाई प्राथमिकतामा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?