
काठमाडौं । ब्लकबस्टर फिल्म ‘दुई रुपैयाँ’ निर्देशनपछि ए-लिस्टर फिल्ममेकरको रुपमा दरिएका असिम शाह यतिबेला नयाँ फिल्ममा व्यस्त हुनुपर्ने हो ।
विपिन कार्कीलाई मुख्य भूमिकामा लिएर उनी नयाँ फिल्म ‘डामाडोल’ बनाउन व्यस्त थिए । तर उनले यसलाई केही समय होल्डमा राखे । फागुनदेखि छायांकनको तयारी छ । तर अहिले उनको बाटो मोडिएको छ ।
असिमको दैनिकी यतिबेला फिल्म र विज्ञापनको एक्सन-कट्मा होइन । मतदातालाई भोट माग्दैमा बितिरहेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार हुन् ।
काठमाडौं ६ र ७ का उम्मेदवारलाई भोट माग्नेदेखि अहिले पार्टीको घोषणापत्र मतदातासामु लैजाने काममा उनी व्यस्त छन् । ४० वर्षीय फिल्म निर्देशक मुलुकको अस्थिर राजनीति र भविष्यलाई लिएर चिन्तित र आक्रोशित सुनिन्छन् ।
फिल्म बनाउन लागेको मान्छे एकाएक देश बनाउने हुटहुटीमा किन लाग्यो ? उम्मेदवारी किन ? यदि चुनाव जिते कला र फिल्मको प्रतिनिधित्व कसरी गर्नुहुन्छ ? यी प्रश्नको वरपर उनी अनलाइनखबरसँग गफिए ।
तपाईंको उम्मेदवारी किन ?
फिल्म बनाउँदा बनाउँदै देश बनाउनेतिर लागें । एक किसिमको फ्रस्टेसन भयो । भोट दिन त दिने तर कसलाई दिने ? एउटा राम्रो उम्मेदवार वा पार्टी चाहियो । यसले हाम्रो भविष्य र देश बनाउँछ भन्ने मान्छे चाहियो । त्यो भएन ।
कोही पनि नभइसकेपछि हामी आफैं लाग्नुपर्यो । रहरभन्दा पनि बाध्यताले लाग्नुपरेको हो । बच्चाको भविष्य हेर्नुपर्यो । फिल्ममेकिङमा २० वर्ष भइसक्यो । बच्चाको भविष्य निश्चित भएन भने त कसरी गर्ने त ?
सधैं बुढाखाडा मात्र भए । हाम्रो मुस्लिम समुदायमा पनि तराई र मधेशबाट आउने मुस्लिम बुढाहरु मात्र भए । हामीजस्ता काठमाडौंका मुस्लिम त व्यापार व्यवसायमा मात्र व्यस्त हो । राजनीति भन्ने बित्तिकै कोही पनि सुन्नै चाहँदैन ।
फिल्म बनाउन छाड्छु, तर यसपालि चाहिं आफ्नो आवाज उठाउँछु भनेर म लागेको हो । समानुपातिकमा म उठेपछि रवि लामिछानेलाई पनि होस्टेमा हैंसे भयो किनभने ऊ पनि मिडियाको र म पनि ।
राष्ट्रिय स्वतन्त्र पार्टी नै किन ?
म एक्लै स्वतन्त्रबाट लागेर म त्यहाँ कहिले पुग्ने ? एउटा भ्वाइसले केही पनि हुँदैन यहाँ । रवि लामिछाने एक व्यक्तिले त केही नगर्ला, तर एउटा टिमले त केही गर्न सक्ने भयो नि त । त्यही भएर मैले ज्वाइन गरेको हुँ । आन्तरिक मतदानको आधारमा जितेपछि म उम्मेदवार बनेको हुँ ।

यसरी १०-१५ जनाको टिम बनेपछि बार्गेनिङ गर्न सकिने भयो । एक जना दीपक मनाङेले त धेरै कुरामा बार्गेनिङ गर्न सक्छन् भने १०-१५ जनाको बार्गेनिङ पावर पनि बढी नै हुन्छ । सोहीअनुसार हामीले वाचापत्र पनि सार्वजनिक गरेका छौं ।
फिल्म क्षेत्रलाई कसरी प्रतिनिधित्व गर्नुहुन्छ ?
हामीले नेपाललाई विश्व फिल्म निर्माणको केन्द्र बनाउने एजेण्डा वाचापत्रमा राखेका छौं । साथै, नेपाली फिल्मको विकास गर्नेतर्फ पनि हामी साँच्चिकै गम्भीर छौं । फिल्म र कला क्षेत्रको प्रतिनिधित्व गर्दै मैले एजेण्डा पार्टीमा पनि लैजाने भएँ ।
चलचित्र विकास बोर्ड कस्तो हुनुपर्छ भनेर नीति निर्माण गर्न पनि फाइदा हुनेभयो । चलचित्र क्षेत्रबाट कोही पनि सांसद छैन । त्यहाँ चलचित्र क्षेत्रको आवाज उठाउन पनि म संसदमा पुग्नुपर्छ ।
अस्तिसम्म हामीले पार्टीको ब्रान्डिङ गरिरहेका थियौं । आजदेखि घण्टीको प्रचारप्रसारमा जुटिरहेका छौं । साथै, घोषणापत्रलाई मतदातासामु लैजान लागिरहेका छौं ।
डामाडोल भन्ने फिचर फिल्म बनाउने तयारीमा छु । एकैछिन बिट मारेर म चुनावतिर लागेको छु । फिल्म फागुनदेखि सुटिङमा लैजाने तयारी छ । जी-ट्वान्टी वानबाट नयाँ फिल्मको तयारी भइरहेको हो । निर्वाचनको कारण अहिलेलाई रोकिएको हो ।
सदनमा पुगेर पनि यो काम छाड्ने पनि होइन । फिल्म बनाउने र नीति निर्माण दुवै पक्षको काम गर्ने हो ।
प्रतिक्रिया 4