
२०५० सालमा गोरखामा जन्मेका अब्दुस मिया राजनीतिमा आएको धेरै भएको छैन, तर धेरै उतारचढाव व्यहोरिसके । उनले २०७४ सालमा रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीमा आवद्ध भएर राजनीतिक यात्रा सुरु गरेका थिए ।
साझा र विवेकशील नेपाली दलको एकतापछि बनेको साझा विवेकशील पार्टीको युवा संगठनको अध्यक्ष बने मिया । यसबीचमा उनले पुराना दल अर्थात् राजनीतिक संस्थापन विरुद्ध कडा अभिव्यक्ति दिंदै वैकल्पिक राजनीतिको नयाँ भाष्य स्थापित गर्ने प्रयास गरे ।
त्यही बेला मिश्र राजतन्त्रको पक्षमा खुलेपछि साझा विवेकशील पार्टीमा गोलबन्द अरू युवा जस्तै मिया पनि स्तब्ध र अनिर्णित बने । अन्ततः उनले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौ–६ बाट स्वतन्त्र उम्मेदवारी दिने निर्णय लिएर अनिर्णयको अवस्था तोडे ।
युवामाझ त्यो निर्णयको तरंग कायम रहेकै अवस्थामा मिया नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको हातबाट टीका लगाउन पुगे, जसका बिरुद्ध चर्को आलोचना गरेर उनी थाक्दैनथे । कुरा त्यतिमै अड्किएन, काठमाडौं–६ बाट उठ्ने आम बयान दिएका मिया गोरखा–२ मा एमालेको उम्मेदवार हुन पुगे । गोरखा–२ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिस्पर्धी छन् ।
सामाजिक अभियानबाट राजनीतिमा
जन्मथलो गोरखा भए पनि मियाले काठमाडौंलाई कर्मथलो बनाउँदै आएका छन् । परिवार नै काठमाडौंको बूढानीलकण्ठ बसाइँ सरेपछि उनको शिक्षा–दीक्षा त्यहींबाट अघि बढ्यो । प्लस टुमा विज्ञान विषय पढेका उनी त्यसपछि पब्लिक हेल्थतिर लागे ।
त्योसँगै सामाजिक संस्थाहरूमा संलग्नता बढाउँदै लगे । त्यसले राजनीतिमा चाख बढायो । उनलाई लाग्न थाल्यो– हामी जस्ता तन्नेरीको उपस्थितिले नेपालको राजनीतिलाई रोमाञ्चक बनाउन सक्छ । त्यसरी उनी साझा र विवेकशील नेपाली हुँदै एमालेमा पुगे ।
हिजो–अस्ति मात्र आफूलाई चर्को मौखिक निशाना बनाउने अब्दुस मियालाई एमालेले सुरुमै सांसदको टिकट दिएर स्वागत गरेको छ । मिया पनि गोरखा–२ मा प्रचण्डलाई राम्रै मतान्तरले हराउने बताउँछन् ।
‘शेरबहादुर देउवा र प्रचण्डबीच केन्द्रमा गठबन्धन भएको हो, गोरखाका कांग्रेस र माओवादीका मतदाताबीच होइन’ उनी भन्छन्, ‘प्रचण्डले गठबन्धनबाट जति मत अपेक्षा गर्नुभएको छ, ठिक उल्टो हुन्छ । उहाँ राम्रै मतान्तरले हार्नुहुन्छ भन्ने लागेको छ ।’
तर, गत स्थानीय चुनावमा गोरखा–२ मा वडाअध्यक्षहरूले पाएको मतको अवस्था हेर्दा प्रचण्ड बढी अनुकूल अवस्थामा देखिन्छन् । यही बुझेर उनी चितवन–३ छाडेर गोरखा उक्लिएको बुझ्न गाह्रो पर्दैन ।
स्थानीय चुनावमा गोरखा–२ मा पार्टीगत रूपमा माओवादी केन्द्रले २२ हजार २५०, नेपाली कांग्रेसले २१ हजार १३६, एमालेले ७ हजार ९२६ र जनता समाजवादी पार्टी (जसपा)ले ७ हजार ५०४ पाएका थिए । जसपाको मत अहिले डा. बाबुराम भट्टराईसँगै सत्तारूढ गठबन्धनतिरै छ ।
यो चुनावी अंकगणितलाई मियाका लागि निकै प्रतिकूल भन्न सकिन्छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । मियाले पाउन सक्ने स्वतन्त्र मत पनि बुर्लाकोटीलगायत प्रतिस्पर्धीमा बाँडिने यसले देखाउँछ ।
प्रतिक्रिया 4